
धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारबाट साहसिक खेल जिपलाइन सुरु भएको छ । करिव ३ करोडको लागतमा भेडेटारबाट धरानको देवीथानसम्म व्यावसायिक रुपमा सुरु गरिएको जिपलाईनलाई मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गरेका छन् ।
जिपलाईन उद्घाटन गर्दै मुख्यमन्त्री राईले भेडेटार क्षेत्रमा चाडै स्काई वाक र केवलकारको पर्यटकीय प्रोजेक्ट पनि थपिने बताएका छन् । पर्यटकीय क्षेत्र भेडेटारलाई अझ बढी पर्यटक तान्ने गरी आकर्षक पर्यटकीय गन्तव्य बनाईने उनको आश्वासन छ ।

भेडेटारबाट धरान तर्फ सञ्चालन हुँने ६ सय ५० मिटर दुरीको जिपलाइनमा साहसिक पर्यटकले करिब ४५ सेकेण्ड अनुभव लिन पाउने सञ्चालक कम्पनी वल्र्डवाइड प्रा.लि.का सञ्चालक केदार थापाले जानकारी दिए । उनका अनुसार क्लासिक, सुपरम्यान र कपल गरी तीन प्रकारले जिपलाइनमा अनुभव लिन सकिन्छ ।
जिपलाईनको क्लासिकका लागि १२ सय, सुपरम्यान (सुतेर) का लागि १५ सय र कपल (जोडी) का लागि १८ सयदेखि २ हजार रुपैयासम्म लिईने थापाले बताए ।

उद्घाटनका अवसरमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि सुपरम्यान जिपलाइनको अनुभव लिएकी छन् । पहिलो पटक जिपलाइन गर्दा सुरुमा केही डर लागेपनि पछि रमाईलो अनुभूती भएको उपमेयर सुवेदीले बताईन् ।















