धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा आयोजित पूर्व बिद्यार्थीहरुले भेलाले संबिधान सभा सदस्य टिकाराम चेम्जोङको अध्यक्षतामा एल्मुनाई एसोशिएसन गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, महासचिवमा स्ववियुका पूर्व सदस्य राजन पौडेल, सचिवमा प्रदेश सांसद कुसुमकुमारी श्रेष्ठ र कोषाध्यक्षमा प्राध्यापक रुद्र पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यमा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, स्ववियुका पूर्वसभापति भगतचन्द्र थपलिया, मानव अधिकारकर्मी विदुर सुवेदी, पूर्व विद्यार्थी डिल्ली गुरागाँई, पत्रकार लिलाबल्लभ घिमिरे र नेविसंघका पूर्व अध्यक्ष खेमराज पौडेललाई चयन गरिएको छ ।
त्यस्तैगरी पूर्व क्याम्पस प्रमुख नारायण जोशीको संयोजकत्वमा सल्लाहकार समिति पनि बनाईएको छ ।
सल्लाहकार समितिको सदस्यमा संविधानसभाका सदस्य हेमराज भण्डारी, प्रदेशसभा सदस्यहरु इन्द्रमणि पराजुली, निरन राई, चन्द्रबहादुर नेपाली, डा.मोहन तुम्वाहाङ्ग, सरला कायस्थ, प्रा.डा. यादवप्रसाद लामिछाने, प्रा.डा. गोपालबहादुर भट्टराई, प्रा.डा.बिनोद लुईटेल, गोपालचन्द्र शिवाकोटी, विश्वप्रकाश श्रेष्ठ र राजेन्द्रबहादुर प्रधान रहेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए ।
क्याम्पसको साख जोगाउँन जुटौं : प्रदेश प्रमुख प्रा.डा.सुब्बा
कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्द सुब्बाले धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक इतिहासको साखलाई जोगाउन धनकुटावासी एकजुट हुनुपर्ने बताएका छन् ।
धनकुटा क्याम्पसका पूर्व बिद्यार्थीसमेत रहेका प्रदेश प्रमुख सुब्बाले धनकुटा क्याम्पस पूर्वको शैक्षिक गन्तव्यको रुपमा स्थापित भएकाले यसको साख जोगाई राख्न धनकुटेली एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सांसद एवम् न्याय कानुन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले पूर्वमा शैक्षिक जागरण ल्याउन क्याम्पसको महत्वपूर्ण भूमिका रहेको बताए ।
प्रदेश सांसद निरन राई, जग्गादाता कर्णेल स्व.भक्त बहादुरका छोरा कलाकार विश्व बस्नेत, स्थापनाकालका पहिलो विद्यार्थी सरला कायस्थ, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. यादवप्रसाद लामिछाने, स्ववियुका पूर्वसभापति भगतचन्द्र थपलिया लगायतले प्रदेशकै पहिलो धनकुटा क्याम्पसलाई पहिलेकै उचाईमा लैजान सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
पूर्व बिद्यार्थी र जग्गादातालाई सम्मान
कार्यक्रममा पूर्व विद्यार्थी एवं प्रदेश प्रमुख प्रा.डा.गोविन्द सुब्बासहित बिभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । जग्गादाता कर्णेल स्व.भक्तबहादुर बस्नेत, स्व.हिक्मतबहादुर बस्नेत र स्व.इन्द्रबहादुर बस्नेतका छोराहरुलाई सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मानित गरिएको हो ।
त्यस्तैगरी क्याम्पस स्थापनाकालका विद्यार्थी, पूर्व स्ववियू सभापति लगायतलाई पनि सम्मान गरिएको क्याम्पस प्रमुख बस्नेतले जानकारी दिए ।
स्थापनाकालदेखिका पूर्व बिद्यार्थीको जमघट
धनकुटा क्याम्पसमा सदाको भन्दा बुधबार भिन्न माहौल थियो । प्रायः अध्ययनरत बिद्यार्थी, शिक्षक र कर्मचारी भेला हुँने क्याम्पसमा पूर्व बिद्यार्थीहरुको जमघट भयो । क्याम्पसको शैक्षिक विकासका लागि एल्मुनाई एसोशिएसन गठन गर्न पूर्व बिद्यार्थी भेला भएका थिए ।
२०१२ सालमा स्थापना भएको क्याम्पसमा हालसम्म धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर लगायत बिभिन्न जिल्लाका हजारौं बिद्यार्थीले अध्ययन गरिसकेका छन् ।
स्थापनाकालमा अध्ययन गर्नेदेखि अहिले पढ्दै गरेका बिद्यार्थीसम्म जम्मा हुँदा माहौल भिन्न थियो । स्थापनाकालमा अध्ययन गरेका पूर्व बिद्यार्थीले झण्डै ६० बर्षपछि पुनः क्याम्पस परिसरमा भेला भएर आफुले अध्ययन गरेको क्याम्पस नियाल्ने मौका पनि पाए ।
तस्वीरहरु: भेषराज कटेल/संगालोखबर