
धनकुटा, ९ चैत । सवारी दुर्घटना न्यूनीकरणका लागि धनकुटामा २२ वटा ट्राफिक संकेत बोर्ड थपिएको छ । साँगुरीगढी गाउँपालिका स्थित नमस्ते झरनादेखि धनकुटा बजारसम्म ट्राफिक संकेत बोर्ड थप गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश नं.१ का ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रबि कुमार पौडेल नेतृत्वको टोलीले नमस्ते झरना, घण्टे, मुलघाट, रुद्रवारी, पात्लेखोला लगायत स्थानको सडकमा संकेत बोर्ड राखेको हो । सोहि क्रममा साँगुरीगढी स्थित कोशी राजमार्गमा प्रदेश नं.१ का ट्राफिक प्रहरी प्रमुख पौडेलले सवारी दुर्घटना न्यूनिकरणका बिषयमा प्रशिक्षणसमेत दिएका छन् ।

यातायात व्यवसायी, सडक प्रयोगकर्ता, यात्रु, स्थानीयबासी लगायतलाई सडक अनुशासन, सुरक्षीत सडक प्रयोग र ट्राफिक नियम सम्वन्धी बिषयमा सडकमै प्रशिक्षण दिईएको हो । सवारी चालक परिचालकलाई लागु गरिने पोशाक कार्यान्वयन एवं १५ दिने सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत कार्यक्रम गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अभियान अन्र्तगत यसअघि धनकुटा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि उद्योगी व्यावसायी, यातायात व्यावसायी, बिद्यालय सम्बन्धि संगठन लगायतसँग अन्र्तरक्रियासमेत गरेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । अभियानकै क्रममा सवारी चालकको आँखा जाँचसमेत गरिएको थियो ।

पूर्वका ६ जिल्लामा राखियो ६ सय बोर्ड
सवारी दुर्घटना न्यूनीकरणका लागि १५ दिने अभियान अन्र्तगत प्रदेश नम्बर १ का १४ वटै जिल्लामा बिभिन्न कार्यक्रम सञ्चालन भईरहेको छ । शुक्रवार मात्रै धनकुटा, उदयपुर, ईलाम, सुनसरी, मोरङ र झापामा करिव ६ सय वटा ट्राफिक संकेत बोर्ड राखिएको प्रदेश नं.१ का ट्राफिक प्रहरी प्रमुख पौडेलले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार सवारी दुर्घटना न्यूनिकरणका लागि २२ प्रकारका कार्यक्रम सञ्चालन भईरहेको छ । ट्राफिक प्रहरीले बिशेष अभियान सञ्चालन गरिरहेकाले यसले प्रदेश नं १ मा सवारी दुर्घटना न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रमुख पौडेलको दावी छ । अभियान आगामी बिहिबारसम्म सञ्चालन हुँनेछ ।















