जाजरकोट। त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ ।
घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।
“गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भन्नुभयो, “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उहाँले बताउनुभयो ।
पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उहाँले बताउनुभयो । वर्षात्को समयमा आकासे पानीको सङ्कलन गरेर खाने गरेको पनि उहाँले बताउनुभयो । बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,” उहाँले भन्नुभयो ।
तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताउनुभयो । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।
जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छ ।