काठमाण्डौ, ९ माघ । एउटा फिल्मले घोषणा गरेको मितिमा अर्को फिल्म पनि रिलिजका लागि तयार हुनु आश्चर्यजनक कुरा होइन । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् अनि ५२ वटा हप्तामा कुनै फिल्मले एकल प्रदर्शनको अवसर पाउनु लगभग असम्भव छ । यसबीच पनि केही गिनेचुनेका कलाकारका फिल्मले भने प्रायः सोलो रिलिज पाइरहेका हुन्छन् ।

Advertisement

गिनेचुनेका कलाकारको लिस्टमा अग्रस्थानमा आउने नाम हो- अनमोल केसी । लगातार उनी अभिनीत फिल्मले बक्सअफिसमा धूम मच्चाएका कारण कुनै निर्माता उनका फिल्मसँग एउटै डेटमा आउन चाहँदैनन् । आउँदै नआएका भने चाहिँ होइनन् तर जुध्न आएका फिल्मको बक्सअफिस रिपोर्ट सुनाउन लायक छैन ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि अनमोलको स्टारडम कमजोर हुँदै गएको विश्लेषण हुँदै गर्दा यस वर्ष उनका दुई प्रतिक्षीत फिल्मसँग राम्रो फ्यान फलोइंग भएका दुई अभिनेताको फिल्म टकरावका लागि तयार छन् । फागुन १७ मा ‘क्याप्टेन’ सँग ‘द ब्रेकअप’ र चैत २९ मा ‘ए मेरो हजुर ३’ सँग ‘यात्रा’ भिड्ने पक्का भइसकेको छ ।

‘द ब्रेकअप’ मा शहरिया युवापुस्तामा राम्रो क्रेज भएका आशिरमान देशराज जोशी छन् भने ‘यात्रा’ मा ‘ए मेरो हजुर २’ बाट आफूलाई स्टार अभिनेताको रुपमा उभ्याएका सलिनमान बनियाँको लिड रोड छ । दुईलाई नेपाली फिल्म क्षेत्रले उदीयमान र चम्किला नक्षेत्रको रुपमा हेरेको छ । यसकारण पनि दुई अभिनेतासँग भिड्नु अनमोललाई त्यति सहज नहुने ठानिएको छ ।

अब अनमोललाई थप सकस हुने देखिएको छ । कारण, चैत २९ मा ‘यात्रा’ मात्र नभएर उनकै कडा प्रतिस्पर्धी अभिनेता मानिने प्रदीप खड्काको फिल्म ‘लभ स्टेशन’ पनि रिलिज हुने सम्भावना बढेको छ । यसअघि चैत १ गतेलाई निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको थियो तर त्यो निर्णय २४ घण्टा पनि टिक्न सकेन । रिलिज डेट घोषणाको २४ घण्टामा नै निर्माताले रिलिज पोस्टपोन्ड गरे ।

घोषित मितिमा प्रदर्शनमा आउन नसक्नुको कारण थियो, क्यूएफएक्सका मालिक नकिम उद्यिमले ४ करोड लागतमा बनाएको अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ । यो फिल्म चैत १ मा रिलिज हुँदैछ । निर्माताले सर्वाधिक शेयर हात पार्ने हलका मालिकसँग दुश्मनी मोलेर फिल्म रिलिज गर्न निर्माता गोविन्द शाहीले चाहेनन् र अन्तिममा फिल्म घोषित मितिमा नल्याउने निर्णय गरे ।

चैत १ मा ‘लभ स्टेशन’ नआउने निश्चित भएपछि यसको एक हप्तापछि अर्थात् चैत ८ मा रिलिज हुने चर्चा चलेको थियो । तर, यो मितिमा पनि फिल्म नआउने निर्माता शाहीले बताएका छन् । अब कहिले त ?  उनले केही दिनमा गीतमार्फत् नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताए ।

उनले रिलिज डेट लुकाउँदै घुमाउरो शैलीमा भने, ‘फिल्म रिलिज त चैतमा नै हुन्छ र यसपटकको चैतमा ठूलो भिडन्त हुनेवाला छ ।’ उनको भनाइबाट यो बुझ्न गाह्रो छैन कि फिल्म चैत २९ मा रिलिज हुँदैछ । ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ भिड्ने भएपछि यसलाई चैत महिनाको मात्र नभएर वर्ष २०७५ कै सबैभन्दा ठूलो भिडन्तको रुपमा हेरिएको छ ।

अब चैत २९ मा प्रदीपको फिल्म ‘लभ स्टेशन’ पनि आउने तय भएको खण्डमा निर्माता शाहीले भनेजस्तै चैतमा ठूला भिडन्त हुनेछ । युवापुस्ताले सर्वाधिक रुचाएका तीन अभिनेता बक्सअफिसमा आमने-सामने हुनु सुखद कुरा पक्कै होइन । तीन ठूला फिल्म जुध्दा निर्माताको करोडौं डुब्ने मात्र होइन तीन अभिनेताको स्टारडम पनि खरानी हुनसक्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!