मोरङ, १५ असोज । वरिष्ठ राजनीतिक तथा सामाजिक व्यक्तित्व भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई नागरिकको तर्फबाट अभिनन्दन गरिने घोषणा गरिएको हो ।
यस सम्वन्धमा केही दिन अघि भएको नागरिक भेलाले एलिड क्लब विराटनगरका अध्यक्ष डा. भेषप्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । समितिमा उद्योग संगठन, मोरङ्ग ब्यापार संघ, पत्रकार महासंघ, जिल्ला सहकारी संघ, मनमोहन प्रतिष्ठान, जेष्ठ नागरिकसंग सम्वन्धित संघ/संगठनहरु, प्याब्सन लगायत बिभिन्न संघ/संगठन, सभासद, सामाजिक ब्याक्तित्वहरु सदस्य रहेका छन् ।
त्यसैगरी डा. धमलाकै सयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्य सम्पादन समितिको हिजो सम्पन्न बैठकले विभिन्न आठ वटा उपसमिति गठन गरेको छ ।
पवन सारडाको संयोजकत्वमा कार्यस्थल व्यवस्थापन, भीमप्रसाद घिमिरेको संयोजकत्वमा आर्थिक, डा. भेषप्रसाद धमला, स्वागत सत्कार, कविराज न्यौपानेको संयोजकत्वमा अभिनन्दनपत्र तयारी एवम कार्यपुस्तिका प्रकाशन, रमेशचन्द्र पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी डिल्ली पोखरेलको संयोजकत्वमा प्रचार प्रसार, भिखमचन शरणको संयोजकत्वमा जलपान व्यवस्थापन र स्वास्थ्य महाशाखाका प्रमुख ज्ञानबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुने र राष्ट्रपतिको समय लिएर मिति तय गर्ने कुरा मूल समारोह समितिका संयोजक धमलाले बताए । उनका अनुसार १ नं. प्रदेशका मुख्य मन्त्री शेरधन राई संयोजक र सामाजिक विकास मन्त्री जीवन घिमिरे सहसंयोजक रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ राजनितिज्ञ अधिकारीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत नागरिक अभिनन्दन गर्न लागिएको जनाईएको छ । जेष्ठ नागरिकको सन्दर्भमा उनको विशेष योगदान रहेको छ । उनी अर्थमन्त्री भएकै समयदेखि वृद्ध भत्ता लगायतका सामाजिक भत्ताहरुको वितरण कार्य शुरु भएको थियो । अधिकारी १ नं. प्रदेश अन्तर्गत विराटनगरका स्थायी बासिन्दा समेत हुन ।