धरान, १४ असार । सरकार गठन भएको झन्डै एक वर्ष पुग्दा पनि प्रदेशको राजधानी र नाम टुंगो नलागेको भन्दै आलोचना भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छलफल सुरु गरेका छन् । राईले पहिलो चरणमा नेकपाका सांसदसँग अनौपचारिक छलफल गरेका छन् ।
मुख्यमन्त्री राईले मोरङ, उदयपुर र संखुवासभाका सांसदसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै छुट्टाछुट्टै छलफल गरेका हुन् । अधिकांशले इटहरी, धरान वा धनकुटालाई प्रदेशको राजधानी बनाउन सुझाब दिएको छलफलमा सहभागी एक सांसदले बताए । मोरङका सांसदहरूले भने विराटनगर नै पायक भएको बताएका थिए ।
संखुवासभाका सांसद तुलसीप्रसाद न्यौपानेले प्रदेशको राजधानी र नामका विषयमा धेरै आलोचना भएकाले दुवै विषयलाई चाँडो टुंग्याउन सुझाब दिएको बताए । ‘१४ वटा जिल्लाका माननीयहरूको बहुमत कायम गरी सबै क्षेत्रका जनतालाई सुविधा हेरेर मात्र राजधानी तोक्न सुझाब दिएका छन्,’ उनले भने ।
सोलुदेखि संखुवासभा र ताप्लेजुङका जनतालाई समेत पायक पर्ने स्थानमा राजधानी हुनुपर्ने उनको भनाइ छ । सहरी चापभन्दा केही पर सुनसरीको कुनै स्थानमा जमिन लिएर विस्तार गर्न सकिने पनि उनले सुझाब दिएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।