ताप्लेजुङ, ९ असोज । ताप्लेजुङसहित पूर्वकै समृद्धिसँग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि मोटर चल्ने पुल बनेको छ । निर्माण शुरु भएको झण्डै एक दशक पुग्न लाग्दा उक्त पुलले आफ्नो स्वरुप पाएको छ ।

Advertisement

अढाइ वर्षभित्रै बनाउने गरी २०६६ सालमा कन्काइ, मैनाचुली र याक्थुङ्हाङ गरी तीन निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करीब रु १० करोडको लागतमा पुल निर्माण सम्झौता गरेका थिए ।

विभिन्न बहाना देखाउँदै निर्माण पक्षले ढिलाइ गर्दै आए पनि पछिल्लो समयमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईसहितका सरोकार भएकाहरुले चाँडो सम्पन्न गर्न गम्भीर ध्यानाकर्षण गराउनुभएको थियो । मेची राजमार्गको मात्रै भरमा रहेको ताप्लेजुङ अब कोशी राजमार्गसँग समेत सडक सञ्जालले जोडिएको छ ।

जिल्लाका दुई निर्वाचन क्षेत्र तथा सबै स्थानीय तहसमेत सदरमुकाम फुङलिङसँग सडक सञ्जालले जोडिएका छन् । यसअघि तमोरपारिका दर्जनाँै गाउँमा बनेका कच्ची सडक पुल नबनेका कारण प्रयोगविहीनजस्तै थिए । पुल बनेसँगै सोमबारदेखि मेरिङ्देन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको केन्द्रसम्म सवारीसाधन पुग्न थालेका छन् ।

यस्तै मदन भण्डारी राजमार्ग छोटो दूरीमा नै ताप्लेजुङ तराईसँग जोडिएको छ । पुल बनेसँगै जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने स्थानीयवासीको विश्वास छ ।

शुक्रबार फुङलिङ खुला हुने

चाडबाडमा उपभोक्तालाई किनमेलमा सहज होस् भन्ने उद्देश्यसहित शुक्रबार समेत ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारलाई खुल्ला राखिने भएको छ । दशैैँतिहार र छठलाई लक्ष्य गर्दै आउने शुक्रबारदेखि नै बजार खुला गरिने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

यसअघि साताको एक दिन शुक्रबार बजार पसल बन्द गरिँदै आएको थियो । चाडबाडका बेला गाउँगाउँबाट समेत ग्राहक तथा उपभोक्ता बजारमा किनमेलका लागि आउने भएकाले उनीहरुलाई सहज होस् भन्ने उद्देश्यले बजार पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिए।

चाडबाड नजिकिएसँगै सदरमुकाम फुङलिङमा चहलपहलसमेत बढ्न थालेको छ । यही असोज १२ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म बजार खुला हुने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!