काठमाडौँ, ५ असोज । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम सङ्घीय संरचनाअनुरुप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई सङ्घीय संरचनामा ढाल्न निर्देशनालय स्थापनाको सोच अघि सारेको हो ।
हाल मुलुकका ६२ जिल्लामा नार्कको सञ्जाल विस्तार भए पनि प्रदेशस्तरमा सङ्गठन छैन । नार्कका सूचना अधिकृत बाबुराम पौडेलले सङ्घीय संरचनाअनुरुप अघि बढ्न नार्कले सातै प्रदेशमा अनुसन्धान निर्देशनालय स्थापनाको तयारी थालेको बताए।
सातै प्रदेशमा अनुसन्धान निर्देशनालय जतिसक्दो छिटो निर्देशनालय स्थापना गर्न तयारी तीव्र पारिएको छ । प्रदेश नं १ मा सुनसरी, २ मा बाराको परवानीपुर तथा गण्डकी प्रदेशमा कास्कीको लुम्लेमा निर्देशनालय खोल्ने प्रस्ताव अघि बढाइएको छ ।
प्रदेश नं ३ मा नार्कको मुख्यालय नै छ । प्रदेश नं ५ मा बाँकेको खजुरामा दिर्नेशनालय राख्ने सम्भावना छ । प्रस्तावले मूर्तरुप पाएमा कर्णाली प्रदेशको सुर्खेत कृषि केन्द्रको स्तरोन्नति भएर निर्देशनालयमा बदलिने छ ।
प्रदेश नं ७ मा अहिलेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटीलाई अनुसन्धान केन्द्र बनाई कैलालीको मुसरियामा नयाँ कृषि अनुसन्धान निर्देशनालय खोल्न प्रस्ताव गरिएको छ । “प्रदेश अनुसार अनुसन्धान पनि फरकफरक हुनेछ,” पौडेलले भने । प्रदेशको भूगोल र हावापानी फरकफरक भएकाले उद्देश्य पनि त्यहीअनुरुप तय गर्न लागिएको उनको भनाइ छ ।
प्रदेश नं १ मा खुल्ने निर्देशनालयले बङ्गुर, चौँरी, स्याँबोचे, अलैँची, किबी, कागती र मुसुरोलाई विशेष महत्व दिनेछ । प्रदेश नं २ मा भैँसी, आँप, लिची, मसिनो धान, कागती र मुसुरो, प्रदेश नं ३ मा गाई, कुखुरा, कफी र किबी, प्रदेश नं ५ मा बाख्रा, कफी र मुसुरो, कर्णाली प्रदेशमा बाख्रा, जडीबुटी र स्याउ तथा प्रदेश नं ७ मा जैतुन, जडीबुटी, स्याउ, बाख्रा र मुसुरोलाई प्रमुख अनुसन्धानको केन्द्र बनाइने पौडेलले बताए।
हालको बाख्रा अनुसन्धान केन्द्र बन्दीपुर राष्ट्रिय बाख्रा अनुसन्धान, कृषि अनुसन्धान केन्द्र राजिकोटलाई स्याउ अनुसन्धान तथा भेडा अनुसन्धान केन्द्र जुम्लालाई भेडा अनुसन्धान कार्यक्रमको रुपमा स्तरोन्नति हुनेछ ।