विराटनगर, १९ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मंगलवार मोरङको कानेपोखरीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले कानेपोखरी गाउँपालिका–६ रमाइलो मंगलवारेमा सञ्चालन गरिएको शिविरबाट ५ सय ७ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका हुन् । शिविरमा ८१ जनाको भिडियो एक्सरे र ४३ जनाको ल्यावटेष्ट गरिएको आयोजकले जनाएको छ ।
शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ६९ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । उनका अनुसार अस्पताल रिफर गरिएका बिरामीलाई नोबेलकै गाडीमा ल्याएर आर्थिक अवस्था मुल्यांकन गरी पूर्ण रुपमा निःशुल्क वा ५० प्रतिसत छुटमा उपचार गरिनेछ ।
शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । बिरामीको उपचारका लागि नोबेल अस्पतालबाट करिव दुई दर्जन डाक्टरहरुको टोली शिविरमा गएको थियो । ग्रामिण क्षेत्रका बिपन्न एवं उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिरामीलाई निःशुल्क उपचार गर्न नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।
पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले बुधबार पनि मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।
नोबेलले केहि दिन अघि पनि मोरङको खोर्साने, भाउन्ने, धरहरा र बैजनाथपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । नियमित निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको नोबेलले गत आर्थिक बर्ष शिविर मार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको छ ।
तस्वीरहरु हेर्नुहोस्…