
धनकुटा, १६ भदौ । धनकुटामा शनिवार आयोजित तीज विशेष कार्यक्रममा सहभागिले समाज परिवर्तनका लागि आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था र मिसन मुस्कान पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा भएको तीज विशेष कार्यक्रममा सहभागिले यस्तो बताएका हुन् ।
संस्कृतीका नाममा चाडपर्वलाई भड्किलो गरी मनाउने परिपाटि बढेकाले त्यसलाई रोक्न सवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरुको जोड छ । साधारण पोषाकमा तीज मनाएर अरुलाई पनि सकारात्मक सन्देश दिनुपर्ने उनीहरुले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य कुसुम श्रेष्ठले सस्कृतिलाई बिक्रितिका रुपमा नभई सस्कृतिकै रुपमा जोगाईराख्न सवैले सचेत बन्नुपर्ने आवश्यकता औल्याईन् ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख टंक बहादुर चुवान, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठ, जिल्ला युवा समिति अध्यक्ष अर्जुन छाराहाङ, धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर राई, राष्ट्रिय सहकारी बैकका प्रमुख सिद्धी श्रेष्ठ लगायतले सस्कृतिलाई जोगाईराख्नुपर्नेमा जोड दिदै तीजको शुभकामना दिए ।
मिसन मूस्कान पर्यटन प्रवद्र्धन केन्द्रकी अध्यक्ष कुशुम राना, धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तारा तितुङ, आइएमइ लाइफ ईन्स्योरेन्सका प्रमुख विकास श्रेष्ठ लगायतले पनि तीजको शुभकामना दिएका छन् । कार्यक्रमकै अवसरमा तीज गीतमा सामुहिक नृत्य पनि गरिएको थियो ।
सीडीओलाई स्वागत

तीज बिशेष कार्यक्रमकै अवसर पारेर धनकुटाका नयाँ प्रमुख जिल्ला अधिकारीे सिताराम कार्कीलाई पनि स्वागत गरिएको छ । धनकुटामा सरुवा भएर आएका सीडीओ कार्कीलाई मिसन मुस्कान पर्यटन प्रवद्र्धन केन्द्र र उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट स्वागत गरिएको हो ।















