
धनकुटा, १ जेठ । ५४ औँ विद्यार्थी एकता दिवसको अवसर पारेर धनकुटामा ‘सेमेष्टर प्रणाली र धनकुटा बहुमुखी क्याम्पसको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अखिल क्रान्तिकारी क्याम्पस इकाई समितीको आयोजनामा धनकुटा बहुमुखि क्याम्पसमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पस प्रमुख निरञ्जन वस्तीले सबै डिग्री भएका क्याम्पसमा सेमेष्टर प्रणाली सुरु भएको बताउँदै त्यसका लागि आवश्यक स्रोत साधन जुटाउन क्याम्पस लागिरहेको बताए ।
नेकपा माओवादी केन्द्रका धनकुटा सह–इन्चार्ज ऋषिराम ढुंगानाले क्याम्पसमा विद्यार्थीले राखेका जायज माग पुरा गर्न क्याम्पस प्रशासनलाई आग्रह गरे ।
त्यस्तै क्याम्पसका शिक्षा विभाग प्रमुख बालचन्द्र कट्टेल र स्नातकोत्तर कार्यक्रम प्रमुख माधवप्रसाद मिश्रले २०३० सालमा सेमेष्टर प्रणाली सुरु भएको र त्यसको करिब ७ वर्षपछि हटेको बताउँदै फेरी प्रारम्भ भएकाले यसलाई अगाडि बढाउ ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख किरण घिमिरेले सेमेष्टर प्रणाली र त्यसको नियमको बारेमा प्रोजेक्टरको माध्यमद्धारा सहभागीलाई जानकारी गराएका थिए । सेमेष्टर प्रणाली सुरु भएपछि विद्यार्थीले ८० प्रतिशत हाजीरी नपुगेमा परीक्षा दिन नपाउने लगायतका व्यवस्था छन् ।





















