दोलखा, २० वैशाख। बुधबार दोलखाको शैलुङमा रहेको शारदा माविको भवन उद्घाटन गर्न गएका उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रयोग गर्दै आयोजकले क्रिस्चियन धर्मको प्रचार गरेका छन् ।
विद्यालय भवन निर्माणमा आर्थिक सहयोग गरेको ‘दयाका हातहरू’ नामक संस्थाले उपराष्ट्रपतिलाई प्रयोग गर्दै क्रिस्चियन धर्म प्रचारका सामग्री वितरण गरेको हो ।
कार्यक्रम तालिकाभन्दा बाहिर गएर आयोजकले बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका सामग्री बाँड्न थालेपछि विवादसमेत उत्पन्न भएको थियो । आयोजकले बालबालिकालाई शैक्षिक सामग्री भन्दै क्रिस्चियन धर्मका प्रचार सामग्री बाँड्न थालेपछि शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले उपहार नबाँड्न आयोजकलाई निर्देशन दिएका थिए ।
शैक्षिक सामग्री भन्दै बाँडियो बाइबल
भवनको उद्घाटनपछि आयोजक संस्था दयाका हातहरूका अध्यक्ष बेनीबहादुर कार्कीले ८ नम्बर वडाभरिका विद्यार्थीलाई शैक्षिक सामग्री बाँड्ने भन्दै मञ्चअगाडि भेला पार्न लगाएका थिए । कार्यक्रम तालिकामा शैक्षिक सामग्री वितरण गर्ने उल्लेख नै भएको भन्दै उपराष्ट्रपतिका सुरक्षाकर्मीले कार्यक्रम नराख्न आयोजकलाई आग्रह गरे ।
तर, प्रतिनिधिमूलक रूपमा मात्र बाँड्ने भन्दै उपराष्ट्रपतिको हातबाट केही विद्यार्थीलाई शैक्षिक सामग्री भन्दै प्याकेट बाँड्न थालियो । बालबालिकालाई बाँडिएको प्याकेट खोलेर हेर्दा कापी, कलमसँगै क्रिस्चियन धर्मका प्रचार सामग्री भेटिएपछि सहभागीले विरोध जनाएका थिए ।