खोटाङ, १७ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिकको टोलीले मध्यपहाडी लोकमार्गको कालोपत्रेको गुणस्तर परीक्षणलाई निरन्तरता दिएको छ । विहीबार मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको जयराम–बिजुले (१२ किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको आयोगको प्राविधिक टोलीले दोश्रो दिन जयराम–हलेसी (३० किलोमिटर) सडक खण्डको कालोपत्रेको गुणस्तर परीक्षण गरेको छ।

मध्यपहाडीको कालोपत्रेका काम गुणस्तरहीन भएको व्यापक जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडाैँले स्थलगत अध्ययन र परीक्षणका लागि ईन्जिनियर सन्तोष निरौला, ल्याव अधिकृत बिनोद शाह र सव–ईन्जिनियर गगन बुढाको टोलीलाई खोटाङ पठाएको हो।

Advertisement

महिना दिन नबित्दै कालोपत्रे उक्किन थालेको, कमसल ढुंगाको गिटीलाई बेसकारुपमा प्रयोग गरिएको, कतिपय ठाउँमा सब–बेसलाई नै बेसकारुपमा राखेको, पर्खाल तथा ड्रेन कमजोर बनाइएको, सिमेन्टले बनेका संरचनालाई क्यूरिङ नगरिएको लगायतका चर्को गुनासो आएपछि हलेसी तुवाचुङ नगरपालिकाले प्राविधिक सहित अनुगमन गरेको केही समयपछि अख्तियारको टोली खोटाङ आइपुगेको हो।

अख्तियारको ईन्जिनियरको टोलीले कालोपत्रे गर्न तयार पारिएका खण्डको ‘डेन्सिटी टेस्ट’ गर्नुका साथै कालोपत्रे गरिसकिएका सडकको कालोपत्रे काटेर नमूनाका लागि शिलबन्दी गरेर टंगाल लगिएको ईन्जिनियर निरौलाले बताए । ‘स्थलगत गर्न मिल्ने डेन्सिटी टेस्ट सडकमै गरेका छौँ,’ ईन्जिनियर निरौलाले भने, ‘अख्तियारले आफ्नै सिभिल ईन्जिनियरिङ ल्याव स्थापना गरेकाले कालोपत्रे काटेर बिटवीन, बेस मेटेरियल, चिप्स, गिटी लगायतका सामग्री परीक्षणका लागि बोरामा प्याक गरेर लगेका छौँ।’ जिल्लाका जुनसुकै विकास निर्माणको गुणस्तरका विषयमा समस्या भए अख्तियारलाई हटलाईन वा इमेलमार्फत जानकारी दिन सकिने निरौलाले बताए । मध्यपहाडीको गुणस्तरका विषयमा छानविन गर्न अख्तियारको टोली आएपछि ठेकेदार आत्तिएका छन्।

अख्तियारको टोलीले जयराम–हलेसी सडक खण्डको दुर्छिमको छापडाँडामा ‘डेन्सिटी टेस्ट’ गर्नुका साथै बाहुनीडाँडाको कदुवाबाट कालोपत्रे खोतलेर ल्याव टेष्टका लागि लगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘नगरपालिकाभित्रका सानादेखि ठूला आयोजनामा हुने ढिलासुस्ती र गुणस्तरमा एक ईन्च पनि सम्झौता गर्न सकिन्न,’ मेयर राईले भने, ‘मध्यपहाडीको गुणस्तरका विषयमा एक्सन नलिन दवाव आइरहेको छ । तर, कमजोरीलाई छाड्नु हुन्न।’

अख्तियारको टोलीले विहीबार हलेसी–बिजुले खण्डको स्वास्थ्यचौकी हलेसी जाने मोडको फस्टकोड स्थलगत परीक्षण एवम् अर्खौले भञ्ज्याङको कालोपत्रे निकालेर ल्याव टेष्टलागि शिलबन्दी गरेको थियो । हलेसी–बिजुले खण्डको कालोपत्रेका काम लुम्बिनी कन्काई सुर्य जेभी तथा जयराम–हलेसी सडकमा रौता कन्ट्रक्सनले डिबीएमएसटी पिचका काम गरिरहेको छ ।

दुई पटक म्याद थप भइसकेको हलेसी–बिजुले खण्डको म्याद आगामी असार मसान्तमा सकिँदै छ । भने, जयराम–हलेसी सडकको काम यसै चैत मसान्तभित्र सकिदै छ । हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गतेदेखि २७ गतेसम्म जयराम–हलेसी र हलेसी–बिजुले खण्डको कालोपत्रेको अवस्था अनुगमनकाक्रममा मेयर राईले ठाउँ–ठाउँमा कालोपत्रे कोट्याएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!