कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्ज गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले पनि बालबालिकालाई बोर्डिङ स्कुलमा भर्ना गरे ।
तर शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैं भएका छन् । शिक्षकले जानीजानी दिएको गाँजाले कक्षा पाँचमा पढ्ने तीन बालक बेहोस् भएका हुन् ।
बलेफी गाउँपालिका १ जलवीरेमा रहेको ब्रह्मयाणी इंग्लिस बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षका कुन्दन थापा, दीपेश थापा र १३ वर्षका सन्देश सुनारलाई शिक्षकले तरकारीमा गाँजा र भाङ मिसाएर खवाएको नयाँ पत्रिकामा खबर छ ।
विद्यार्थी बेहोस भएपछि बुधबारदेखि सुरु अन्तिम परीक्षा प्रभावित भएको छ ।