विराटनगर, १४ चैत । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ पेश भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज सो विधेयक पेश गर्नुभएको हो । विधेयकमा राजश्व, लेखा, आन्तरिक लेखा परीक्षण, अभिलेख कोषको व्यवस्था, खर्च, सरकारी रकम, रकमान्तरको व्यवस्था, बेरुजु फछर्याेट, भ्रमणलगायत विषय छन् ।

Advertisement

सो विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य ज्ञानेश्वर राजवंशीले विधेयकमा दण्ड र सजाय तथा प्रदेशसम्बन्धी कोष सञ्चालन, आर्थिक योजना र सम्भावना, मूल्याङ्कन, कार्यभार, आन्तरिक लेखा परीक्षणलगायत व्यवस्था रहेकाले विधेयकलाई समर्थन गर्नुभयो ।

सदस्य लीलाबल्लभ अधिकारीले विधेयक वैज्ञानिक रहेको बताउनुभयो । सदस्य शिवनारायण गनगाईंले बेरुजु फछर्याेटको समय सीमा निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो । सदस्य नवोदिता चौधरीले प्रदेशलाई सक्षम र सबल बनाउन प्रहरी, प्रशासन सञ्चालनका लागि आर्थिक विधेयकमा समेट्नुपर्ने सुझाव दिनुभयो ।

सदस्य मोहनकुमार खड्काले नीतिगत र संंस्थागत भ्रष्टाचारलाई भित्रिन नदिन विधेयकमा व्यवस्था हुनुपर्ने माग गर्नुभयो । सदस्य अम्बिका थापाले लेखा परीक्षणका लागि बाहिरका विज्ञ पनि राख्नुपर्ने सुझाव दिनुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्यलाई आर्थिक कार्य विधेयक २०७४ का सम्वन्धमा सुझाव दिन ७२ घण्टाको समय दिनुभएको छ । प्रदेशसभा नियमावलीअनुसार यही चैत १९ गते बस्ने बैठकमा सो विधेयकबारे छलफल गरी पारित गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!