अन्नपूर्ण

काठमाडौं, २७ फागुन। नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किमिखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको छ। यस खण्डमा आगामी असोजसम्ममा रेलमार्ग निर्माण सकिने र भारतले नै रेल कुदाउने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए।

Advertisement

उनका अनुसार भारतले बर्दिवासदेखि विजलापुरसम्मको जम्मा ७० किमि दूरीमा रेलमार्ग बनाउँदै छ। यसमध्ये २०७५ को असोजसम्ममा ३५ किमि पूर्ण रूपमा तयार हुनेछ। बाँकी ३५ किमिका लागि भने नेपाली भूमितर्फ जग्गा अधिग्रहणकै काम बाँकी छ। यो खण्ड तयार हुन समय लाग्ने भएकाले असोजसम्ममा रेल दौडाउन मिल्ने गरी तयार हुने ३५ किमि रेलमार्ग रेल कुदाँउने गरी आवश्यक प्रक्रिया अगाडि बढिरहेको रेल विभागले जानकारी दिएको छ।

भारतले निर्माण गरिरहेको ७० किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा र ६७ किमि नेपाली भूमिमा पर्छ। ‘हामीसँग रेल नभएको र तत्काल रेल खरिद गरेर सञ्चालन गर्ने कुनै तयारी नभएकालें भारतीय पक्षबाटै सञ्चालनको निम्ति अनुरोध गर्ने भएका छौं’, उपाध्यायले भने।

नेपालले भाडामा लिने वा भारतीय रेललाई नै नेपालसम्म कुँदाउने भन्ने विषयमा नयाँ मन्त्री आएपछि औपचारिक निर्णय हुने जानकारी पनि उनले दिए। तयारी मार्गमा रेल भने पक्कै दौडने दाबी उपाध्यायको छ। नेपाल सरकारले चालू आव २०७४÷०७५ मा रेलमार्ग बनाउन विनियोजन गरेको चार अर्ब रुपैयाँ विनियोजन गरेकामा यस रकमको पहिलो प्राथमिकता पूर्वपश्चिम रेलमार्ग अन्तर्गतको पूर्वी खण्डको ३० किलोमिटर रेलमार्गमा परेको छ।

यस रकममध्ये विभागले हाल एक अर्ब रुपैयाँ खर्चिसकेको छ। यस्तो रकमबाट भारतले निर्माण गरिरहकेको सिमानासँग जोड्ने गरी महोत्तरीको बर्दिवासदेखि लालबन्दीसम्मको २५ किलोमिटर रेलमार्ग निर्माण ८० प्रतिशत सकिएको छ।

यो मार्गमा हाल ट्र्याक बेड निर्माण गर्ने काम सम्पन्न भइसकेको छ। यो रेलमार्ग पनि यही आवमा सक्ने गरी काम भइरहेको विभागले जानकारी दिएको छ। यो मार्ग पूरा भएपछि राष्ट्रिय गौरबका आयोजनाको सूचीमा रहेको पूर्वपश्चिम रेलमार्ग (९४५ किमि)को एउटा खण्ड तयार हुनेछ।

रेल विभागका अनुसार पूर्व खण्डको बर्दिवासदेखि इनरुवा र इनरुवादेखि काँकडभिट्टासम्म डीपीआरको काम पनि अगाडि बढाएको छ। पश्चिम खण्डको बुटवल–लमही, लमही—कोहलपुर, कोहलपुर–सुक्खड, सुक्खड–गड्डाचौकीसम्मको डीपीआर बनाउने काम पनि अगाडि बढाएको जानकारी दिएको छ। रेल विभागले पूर्वपश्चिम रेलमार्गको काम विभिन्न सिमानाबाट भारतसँग जोडेर अगाडि बढाइरहेको छ।

सम्भाव्यता अध्ययन पूरा भएको १३६ किलोमिटरको बर्दिवास–सिमरा–वीरगन्ज खण्ड पनि हो। यो खण्डमा भारतको रक्सौल हुँदै वीरगन्जबाट सिमरासम्म भारतीय रेल ल्याउने गरी काम भइरहेको छ। भारतले रक्सौलबाट पनि नेपाली भुमितर्फ रेलमार्ग ल्याइसकेको छ। भारतले बनाइरहेको जयनगरबाट जनकपुर हुँदै बर्दिवास हुँदै आउने रेलमार्ग पूर्वपश्चिम खण्डमै आएर जोडिन्छ। जोगबनीबाट विरानगर हुँदै आउने रेल पनि इटहरीमा आएर जोडिन्छ। यो मार्ग पनि भारत सरकारले बनाउँदैछ।

बनेन आफ्नै योजना

रेल विभागले आफ्नै रेल खरिद गर्नुपर्ने माग गरेर सरकारसँग तीन अर्ब बजेटको प्रस्ताव गरेको भनिएपछि अहिलेसम्म रेल किन्ने विषयमा कुनै योजना नबनेको उपाध्यायले बताए। उनले भने, ‘नेपाली भूमिमा आफ्नै रेलमार्ग निर्माणको काम धमाधम भइरहको छ, नेपाली भूमिसम्म भारतीय रेलमार्ग सुनिश्चित भइसकेको छ। नेपालले पनि पूर्वपश्चिम रेलमार्ग अन्गर्तगको बर्दिवास–सिमरा खण्डको एक भाग पूरा गर्दै छ।

भारतीय सिमाबाट नेपाल जोडिने र एक/दुई वर्षभित्रै नेपालले पनि बर्दिवास–सिमरा खण्डको एक सय आठ किमि रेलमार्ग तयार पार्ने भए पनि आफ्नै रेल कुँदाउने योजना बनाउने भने ढिलो भइसकेको छ। सरकारी सहयोग हुने हो र आवश्यक जनशक्ति र बजेट भए नेपालको आफ्नै रेल दौडाउन सकिने विभागको भनाइ छ। नौ सय ४५ किलोमिटरको पूर्व–पश्चिम रेलमार्ग बनाउन २०६७ साउनमै भारतीय कम्पनी राइट कन्सल्यान्ट्सले सभाव्यता अध्ययन गरेको थियो। अध्ययनबाट नेपालमा रेल सम्भावना देखिएको हो। सरकारले राष्ट्रिय गौरवको आयोनजानको रूपमा यसलाई अगाडि सारेको भए पनि उल्लेख्य रकम र जनशक्ति नहुँदा देखाउनलायक काम अझै बनिसकके छैन।

नेपाली सीमा जोड्दै भारत

भारत सरकारले नेपाल जोड्ने दुई वटा रेलमार्ग निर्माण गर्दै छ। जोगवनीदेखि विराटनगरसम्मको १८ किमि र जयनगरदेखि जनकपुर हुँदै वर्दिवासम्मको ६९ किलोमिटरमा काम गर्दै छ। यो रेलमार्ग नेपालका लागि क्रसबोर्डर कनेक्टिभिटी हो। यी दुवै मार्ग पूर्वपश्चिम रेलमै आएर जोडिन्छन्। भारत सरकारले जयनर–जनकपुर पूर्वपश्चिममै ल्याएर जोड्दै छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!