काठमाडौं, २५ फागुन। माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ।

Advertisement

एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन। शुक्रबार बिहान शीर्ष नेताको बैठक बसी महराको नाम अनुमोदन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन्।

नेताहरूसँग अनौपचारिक छलफलक्रममा दाहालले महरालाई सभामुखको जिम्मेवारी दिने योजना सुनाइसकेको खुमलटार स्रोतले बतायो। सभामुखमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई जिम्मेवारी दिन एमालेले माओवादीसँग अन्तिमसम्म पनि छलफल गरेको थियो। बिहीबार साँझ पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा नेम्बाङको व्यवस्थापनको विषयलाई लिएर छलफल भएको थियो। छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ।

शनिबार दिउँसो १ बजे संसद्मा सभामुखका लागि निर्वाचन गर्ने संसद्को कार्यसूची छ। शुक्रबार (आज) बिहान १० बजेदेखि १ बजेसम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संसद् सचिवालयले बनाएको छ।

माओवादीभित्र सभामुखका लागि महराका अतिरिक्त नेताहरू देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्टदेखि पूर्वसभामुख ओनसरी घर्तीसम्म आकांक्षी छन्। तर, अध्यक्ष दाहालले वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) लगायत नेतासँगको अनौैपचारिक छलफलपछि महरालाई अगाडि सार्न लागेका हुन्।

महरा २०६३ मा सञ्चारमन्त्री, २०६४ मा संविधानसभा सदस्य हुँदै २०६५ मा पुनः सञ्चारमन्त्री, २०६७ मा गृहमन्त्री भएका थिए। त्यस्तै, उनी २०७० मा दोस्रो संविधानसभा सदस्य हुँदै २०७३ मा उपप्रधान तथा अर्थमन्त्री र पछिल्लोपटक २०७४ मा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए। उनले २०४८ सालमा पनि तत्कालीन संयुक्त जनमोर्चाबाट संसद्मा प्रतिनिधित्व गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!