इलाम, २४ फागुन । इलामको सिङफ्रिङमा रहेको डा मेघबहादुर पराजुली सामुदायिक अस्पताल बन्द भएको छ ।
अर्थ अभाव, दक्ष चिकित्सकको अभावमा अस्पतालका सम्पूर्ण सेवा बन्द भएका हुन् । स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ एक दशकअघिदेखि सञ्चालनमा रहेको सो अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल विगत चार/पाँच वर्ष अघिदेखि नै सुनसान बन्दै गएको थियो ।
२०६१ सालमा डाक्टर मेघबहादुर पराजुली क्लिनिकको नाममा स्थापना भएको उक्त अस्पताल तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ श्ययाको सामुदायिक अस्पतालका रूपमा स्वीकृत भएको थियो । सञ्चालन भएको पाँच/छ वर्षसम्म २४ सै घण्टा बिरामीको चाप हुन्थ्यो, अस्पतालका पूर्व कर्मचारी रविन रायाले भन्नुभयो ।
अस्पताल स्थापनापछि विसं २०६६ सम्म बहिरंग, अन्तरंग, साधारण ए–क्सरे, भिडियो इसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायतका स्वास्थ्य सेवा दिँदै आएको थियो । तर पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध नगराएपछि अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका हुन् ।
हिमालयन हेल्थ केयर संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आएपनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि उक्त अस्पतालको स्वास्थ्य सेवा ठप्प नै भएको थियो । अस्पताल सञ्चालन गर्न वार्षिकरूपमा रु ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले सम्पूर्ण सेवा बन्द गरेपछि अस्पतालको सेवा पुनः सञ्चालन गर्नका लागि सरोकारवाला निकायसँग समन्वय तथा पहल भइरहेको अस्पतालका प्रशासकीय अधिकृत खेमराज घिमिरेले बताउनुभयो ।
अस्पतालमा एकजना मेडिकल अधिकृतसहित २५ जना कर्मचारी कार्यरत थिए । अस्पतालले छ/सात जना कर्मचारी मात्र राखेर अन्यलाई बिदा दिएको छ । अस्पतालले सेवा बन्द गरेपछि अस्पतालमा रहेका बहुमूल्य औजार तथा मेसिन कामै नलाग्ने स्थितिमा पुगेका छन् ।