खोटाङ, २१ फागुन । आफ्नै घरमा भएको आगलागीमा परी गम्भीर घाइते बनेकी रावाबेँसी गाउँपालिका–३ लामिडाँडाकी रत्नमाया सार्कीको एघार दिनपछि मृत्यु भएको छ । गत फागुन ९ गते भएको आगलागीमा परी गम्भीर घाइते भएकी ५० वर्षीया सार्कीलाई तत्कालै काठमाडौँ लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा मृत्यु भएको हो ।

आगलागीमा परी घाँटी र कम्मर मुनिको भाग अत्यधिक जलेपछि सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँमा राखिएको थियो । उपचार सम्भव नभएपछि घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा गए राति मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

Advertisement


उपचारमा सुधार नआएपछि बिरामी रत्नमायाले हातको इसारामा घर लान आग्रह गरेपछि घर ल्याउने क्रममा बाटैमा ज्यान गएको भतिजा एकराज सार्कीले बताउनुभयो । सार्कीलाई उपचारका लागि स्थानीय जनप्रतिनिधिको अगुवाइमा तत्कालै रु एक लाख ७० हजार जुटाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको थियो ।

काठ चिर्ने मेसिनमा पेट्रोल हाल्ने क्रममा नजिकै केटाकेटीले लाइटर बाल्दा शुरु भएको आगलागीमा सार्कीको घर, गरगहना, नगद, अन्नपात, लत्ताकपडालगायत जल्दा रु १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । मृत सार्कीको श्रीमान्, पाँच छोरा र दुई छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!