धनकुटा, २० फागुन । जिल्ला युवा समिति धनकुटाले राष्ट्रिय युवा परिषद्को दोश्रो स्थापना दिवसको अवसर पारेर आइतबार आफ्ना गतिविधि जानकारी गराएको छ । पत्रकार अन्तक्रिया कार्यक्रम गरेर समितिले २ वर्षमा उद्यमशीलता र रोजगारी बिषयक गोष्ठीमा ५१ जना युवालाई परामर्श दिएको जनाएको छ ।
जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रतिभा पहिचान र युवा उद्यम कार्यक्रम पनि गरिएको छ । युवा उद्यम कार्यक्रम अन्र्तगत युवा समुहहरुलाई विभिन्न कार्यक्रम प्रदान गरेको छाराहाङले बताए ।

सुर्तिजन्य पदार्थबाट युवालाई जोगाउने कार्यक्रम बनाई चैतबाट सुरु गरिनेछ । संघीयतामा कसरी जाने भनेर स्पष्ट नीति नआएकाले कार्य सञ्चालनमा समस्या रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय युवा नीति र सरोकारवालाको भूमिका विषयक कार्यपत्र विदुर सुवेदीले प्रस्तुत गरेका थिए । कार्यपत्रको टिप्पणी गर्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष शोविस चेम्जोङले कुनै पार्टीको झण्डा बोक्न नभइ युवामा राजनीति सचेतना हुनुपर्ने आवश्यकता औल्याए ।

त्यस्तै धनकुटा नगरपालिकाका युवा तथा खेलकुद विभाग प्रमुख राजु गुरागाँईले जिल्ला युवा समितिमा बजेट कम भएको भन्दै सामाजिक सञ्जालमा समय खेर फालिरहेका युवालाई राष्ट्र निमार्णमा कसरी लगाउने भन्ने कार्यनीतिको खाचो रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंक चौहानले युवाको जोश, जाँगर र उमंगलाई रोजगारीमा लगाएर सदुपयोग गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला युवा समितिमा आवद्ध विभिन्न संघ–संस्थालाई प्रमाणपत्र वितरण गरिएको छ ।















