हुम्ला, १८ फागुन । राष्ट्रिय सडक सञ्जालले नजोडेको हुम्ला सदरमुकाम सिमिकोटमा हेलिकोप्टरबाट गाडी ल्याइएको छ । सुर्खेत विमानस्थलबाट सेनाको हेलिकोप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको हो।

व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकोप्टरमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् । सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए ।

Advertisement

रावतका अनुसार सिमिकोट गाडी पुर्‍याउँदासम्म ३६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।  ‘सुर्खेतबाट सिमिकोटसम्म हेलिकोप्टरको भाडामा मात्रै १० लाख ५० हजार तिरेँ,’ उनले भने ।त्यस्तै अर्का व्यवसायी विजय लामाले पनि सेनाको हेलिकोप्टरबाटै बुधबार गाडी ल्याएका छन् । उनले पनि सुर्खेत विमानस्थलबाट हेलिकोप्टर चार्टर गरेरै सिमिकोटमा गाडी ओरालेका हुन् । यी दुईसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ । यसअघि लोकजंग शाही र सरोज रावतका तीनवटा गाडी चल्थे ।

सिमिकोटमा ११ किलोमिटर सडक
हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्र्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ । ९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ।

सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्र्णाली राजमार्ग निर्माणाधीन छ । यसमा कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ, भने उता सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म ११ किमि सडक बनेको छ । त्यही सिमिकोट–खार्पुनाथ सडकमा गाडी चल्ने गरेका हुन् । यसमा तीन सय ५० रुपैयाँ भाडा लाग्छ ।

तीन महिना लाग्यो ढुवानी गर्न

सुर्खेत विमानस्थलबाट सिमिकोट विमानस्थल पुग्न एक घन्टा लाग्छ । तर, व्यवसायीहरूलाई सुर्खेतबाट सिमिकोटसम्म गाडी ढुवानी गर्न भने तीन महिना लागेको छ । ‘सुर्खेत विमानस्थलबाट सिमिकोट पुर्‍याउन तीन महिना लाग्यो,’ व्यवसायी चिना रावतले भने ।

उनको गाडी मंसिरमा नै सुर्खेत विमानस्थल पुगेको थियो । रावतले त्यतिवेलै हेलिकोप्टर चार्टरका लागि सेनालाई निवेदन दिएका थिए । सेनाको मुख्यालय हुँदै राष्ट्रपति कार्यालयबाट स्वीकृति पाउन तीन महिना लागेको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!