नयाँपत्रिका

विराटनगर, २९ माघ। सरकार गठनका लागि प्रदेश १ का प्रदेश प्रमुख प्रा. गोविन्दबहादुर तुम्बाहाङ दलको पत्र कुरेर बसेका छन् । प्रदेश १ मा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरिसकेकाले प्रदेश प्रमुख सरकार गठनका लागि पत्रको प्रतीक्षामा छन् ।

संविधानअनुसार बहुमत प्राप्त दलले सरकार गठनका लागि माग गर्दै पत्र लिएर आएमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेर शपथग्रहण गराउनेछन् । मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ । त्यसपछि क्रमशः आवश्यकताअनुसार मन्त्रीहरू नियुक्त हुँदै जानेछन् ।

Advertisement

निर्वाचन आयोगले अन्तिम मतपरिणाम घोषणा गरेको ३० दिनभित्र मुख्यमन्त्री नियुक्त भइसक्नुपर्ने र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘हामी बहुमत प्राप्त दलको पत्रको प्रतीक्षामा छौँ, पत्र प्राप्त हुनासाथ सरकार प्रमुख नियुक्त गरेर उपयुक्त वातावरणमा शपथग्रहण गराउने व्यवस्था मिलाउनेछौँ,’ प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले भने ।

दुई दिनभित्रै सरकार गठन
एमाले संसदीय दलको नेता शेरधन राईले १ फागुनभित्र सरकार गठन भइसक्ने बताएका छन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखका लागि मात्र सिफारिस गरेको छ । प्रदेश १ मा वाम गठबन्धनले एमालेको मुख्यमन्त्री हुने भागबन्डा गरेका छन् ।

प्रदेशमा कुल ९३ सांसद छन् । एमालेका ५१, माओवादी केन्द्रका १६, कांग्रेस २१, संघीय समाजवादी फोरम तीन र राप्रपा तथा संघीय लिम्बुवान परिषद्का एक–एकजना सांसद छन् । प्रदेश १ मा १० सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ ।

उपसभामुखको निर्वाचन ३ फागुनमा
प्रदेश १ को प्रदेश सभा उपसभामुखको निर्वाचन बिहीबार हुँदै छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले यसअघि नै सभामुखको निर्वाचन २९ माघ र उपसभामुखको ३ फागुनमा गर्ने निर्णय गरिसकेको छ । सोहीबमोजिम सोमबार सभामुख चयन हुनेछन् ।

उपसभामुखमा महिला अनिवार्य
सभामुख पुरुष हुने भएपछि उपसभामुख महिला हुनुपर्ने संवैधानिक बाध्यता छ । प्रदेश १ मा दुईतिहाइ पाएका वाम गठबन्धनका एमाले र माओवादी केन्द्रबीच सभामुख एमालेबाट र उपसभामुख माओवादी केन्द्रबाट बनाउने सहमति भइसकेको छ । सोहीबमोजिम सभामुखमा एमालेका भण्डारी निर्विरोध निर्वाचित हँदै छन् भने माओवादी केन्द्रले अब उपसभामुखका लागि महिला सांसद अघि सार्नुपर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!