नयाँपत्रिका

विराटनगर, २६ माघ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छन् । केन्द्रीय सदस्य जीवन घिमिरेले दलको नेता बन्न आकांक्षा देखाए पनि उनी अन्तिममा दौडबाट बाहिरिने एमाले नेताहरूको विश्लेषण छ ।

एमाले प्रदेश १ का संयोजक सचिव आचार्य र सहसंयोजक राईबीच सहमतिको सम्भावना देखिँदैन । बिहीबार दिनभर दलको नेताका आकांक्षी आचार्य र राई आफ्नो पक्षका प्रदेश सभा सदस्यसँगको छलफलमा व्यस्त थिए । बिहान अबेरसम्म सहमति नभए ११ बजेपछि मनोनयन दर्ता हुने र अपराह्न ४ बजेसम्म संसदीय दलको नेता टुंगो लगाउने एमाले नेताहरूले बताएका छन् ।

Advertisement

संसदीय दलका प्रतिस्पर्धी सचिव भीम आचार्य पार्टीमा नेता माधव नेपाल पक्षका मानिन्छन् । अर्का नेता शेरधन राई संस्थापन पक्षका हुन् । संसदीय दलको नेता प्रक्रियाबाट छान्ने सम्भावना बढिरहँदा प्रदेश १ मा एमालेभित्रको गुट उदांगो भएको छ । बिहीबार दिनभर नेपाल पक्ष र संस्थापन (अध्यक्ष केपी ओली) पक्षका प्रदेश सांसदहरू भेला तथा छलफलमा थिए ।

संसदीय दलको नेताका अर्का आकांक्षी जीवन घिमिरे माधव नेपाल पक्षकै हुन् । उनलाई सहमतिमा ब्याक गराएर सचिव भीम आचार्यलाई सघाउन नेपाल पक्षले आग्रह गरिरहेको छ । नेपाल पक्षका एक नेताका अनुसार घिमिरे पछि हटिसकेका छन् । शुक्रबार मनोनयन दर्ताको समयसम्म घिमिरेले खुलेर आचार्यको पक्षमा मतदान गर्ने र आफ्नो उम्मेदवारी नदिने एमाले स्रोतको दाबी छ ।

उता, संस्थापन पक्षले भने सहमति शेरधनको नाममा गर्ने र नभए त्रिपक्षीय भिडन्त गराउने दाउमा छ । जीवन घिमिरेले समेत उम्मेदवारी दिए आचार्यको पक्षमा कम मत जाने भन्दै संस्थापन पक्षले घिमिरेलाई अन्तिम अवस्थासम्म प्रतिस्पर्धा गर्न सुझाइरहेको स्रोतले बतायो ।

केन्द्रीय सदस्य जीवन घिमिरेले चुनावी प्रक्रियामा गए सचिव भीम आचार्यलाई संसदीय दलको नेता बन्न गाह्रो हुने एमाले नेताहरूको आकलन छ । घिमिरे नेपाल पक्षकै भएकाले केही भोट घिमिरेको पक्षमा जाने र शेरधन संसदीय दलको नेता बन्ने बुझाइ कतिपय सांसदको छ । तर, घिमिरे पछि हट्ने सम्भावना बढी रहेकाले आचार्य दलको नेता बन्न सक्ने अर्कोथरीको बुझाइ छ । प्रदेश १ मा एमालेका ५१ सांसद छन् । नेपाल पक्षमा २५, संस्थापन पक्षमा २१ र पाँचजना तटस्थ देखिएको एमालेका एक नेताले बताए ।

प्रदेश १ को संसदीय दलको नेता टुंगो लगाउन माधव नेपाल पक्षका सचिव योगेश भट्टराई र अध्यक्ष केपी ओली पक्षका नेता भानुभक्त ढकाल दुवै विराटनगरमा छन् । सचिव भट्टराई विराटनगरस्थित एसिया पिक होटेलमा बसेर सांसदहरूलाई आचार्यको पक्षमा मनाउन प्रयासरत छन् । मुख्यमन्त्रीका आकांक्षी शेरधन राई भने फन एन्ड फुड रिसोर्टमा आफ्ना पक्षकासँग भेटघाटमा व्यस्त छन् । सचिव भीम आचार्यले भने इटहरीलाई बेस बनाएर आफ्नो गुट सांसदसँग सम्पर्कमा रहेको एमाले स्रोतले बतायो ।

प्रदेश १ का एमाले संयोजक भीम आचार्यसँग यसअघिको निर्वाचनमा टिकट लिने विषयमा माधव नेपाल पक्षकै केही नेता असन्तुष्ट छन् । जसलाई मिलाउने प्रयास सचिव योगेश भट्टराईलगायतले गरिरहेका छन् । माधव नेपाल पक्षले आचार्यलाई संसदीय दलको नेता छानेर उषाकला राई वा गणेश कामहाङमध्ये एकजनालाई सभामुख बनाउने निष्कर्ष निकालेको छ । अर्कोतर्फ संस्थापन पक्षले शेरधन राईलाई मुख्यमन्त्री बनाउने र जगदीश कुसियत वा अन्य कुनै खस–आर्य समुदायका सांसदलाई सभामुख बनाउने तयारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!