धनकुटा, ९ माघ । धनकुटामा स्थानीय प्रशासनले ६ दिनदेखि जारी गरेको निषेधाज्ञा आज अपरान्हबाट खुल्ला गरिएको छ । आन्दोलन हिंसात्मक बनेपछि गत बिहीबारबाट अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
स्थिती नियन्त्रित बनेकाले अपरान्ह ३ बजेबाट निषेधाज्ञा खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् ।
‘लामो समयसम्म निषेधाज्ञाका कारण सर्वसाधरणलाई धेरै सास्ती पनि भयो’ प्रजिअ उप्रेतिले संगालोकर्मीसँग भने ‘स्थिती पनि सामान्यकरण हुदै गएकाले निषेधाज्ञा खुल्ला गरिएको हो ।’
यसअघि हिजो अपरान्ह ३ बजेबाट १६ घण्टाका लागि निषेधाज्ञा खुल्ला गरिएको थियो । त्यसपश्चात बिहान ७ बजेबाट पुनः लागु भएतापनि अपरान्हबाट निषेधाज्ञा पूर्ण रुपमा खुलेकाले जनजीवन सामान्य बन्दै गएको छ ।