तेह्रथुम, २ माघ। जिल्लामा स्थानीय तह गठन भएपछि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि अहिले पनि चुनावमा मतदातामाझ खाएका वाचा पूरा गर्नतर्फ केन्द्रित हुन सकेका छैनन् ।

नयाँ संरचनाको स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिलाई दैनिक कार्य सञ्चालनमा केन्द्रित हुनै मुस्किल भएको छ ।

Advertisement

जनप्रतिनिधिका सामुन्ने कार्यालय व्यवस्थापनदेखि जनशक्ति अभाव, आवश्यक स्रोत साधनको कमी, ऐन, नियम र कार्यविधि निर्माणमा ढिलाइ, विषय विज्ञताको कमीजस्ता दर्जनौँ चुनौती देखिएका छन् । वर्षौंसम्म जनप्रतिनिधिविहीन हुँदा कर्मचारीको भरमा चलेका स्थानीय तहमा बल्ल जनप्रतिनिधि त आए, तर अहिले कर्मचारी अभाव नै मुख्य समस्या भएको छ ।

जिल्लाका स्थानीय तहमा आवश्यकपर्ने जति कर्मचारी नहुँदा कामले गति लिन सकेको छैन । कर्मचारी अभावका कारण जिल्लाको मेन्छ्यायेम गाउँपालिकाले गाउँसभाको तयारी गर्न सकेको छैन भने जिल्लामै सबैभन्दा पहिले गाउँसभा सकेको फेदाप गाउँपालिकाले योजना कार्यान्वयन गर्न सकेको छैन । कर्मचारी अभावकै कारण जिल्लाकै जेठो म्याङलु नगरपालिकाले भर्खरै मात्र नगरसभा सकेको छ ।

अन्य गाउँपालिकाले पनि कर्मचारी अभावको सकस भोगिरहेका छन् । कतिपय वडामा कर्मचारी नहुँदा कार्यालय समयमै पनि वडा कार्यालय बन्द भेटिन्छन् । एउटै वडा सचिवले पाँच वटासम्म वडा कार्यालयको जिम्मेवारी लिन बाध्य छन् भने सेवाग्राही सामान्य सिफारिशका लागि घण्टौँको दूरी धाइरहेका छन् ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका जनप्रतिनिधि समस्यैसमस्याले जकडिएर अलमलमा परिरहेका छन् । मेन्छ्यायेम गाउँपालिकामा केन्द्रको विषयलाई लिएर जनप्रतिनिधिबीचमै विवाद भएपछि अहिलेसम्म ठोस कामको थालनी नै हुन सकेको छैन । विवादले गाउँपालिकाको गाउँसभा नै रोकिएको छ । “केन्द्र विवादले अल्झाइरहेको छ, गाउँसभाको तयारी गर्न कर्मचारी पनि पर्याप्त छैनन्”, अध्यक्ष यादवबहादुर खापुङले भन्नुभयो ।

सो गाउँपालिकामा छ वटा वडा छन् । छ वडाका लागि दुई जना मात्रै सचिव छन् भने गाउँपालिकामा प्रशासकीय अधिकृतबाहेक अन्य कर्मचारी पुगेका छैनन् । शिक्षा, कृषि र पशुसेवाका एक÷एक जना प्रतिनिधि गाउँपालिकाको काममा सहयोग पु¥याउँछन् । यता सबैभन्दा छिटो गाउँसभा सकेर काम थालेको फेदाप गाउँपालिकाले पनि कर्मचारी अभावले योजना कार्यान्वयनलाई अगाडि बढाउन नसकिरहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताउनुभयो ।

“गाउँपालिकामा प्राविधिक कर्मचारी छैनन्, अन्य कर्मचारीको पनि अभाव छ”, उहाँले भन्नुभयोे, “कर्मचारीका सम्बन्धमा माथिसम्म जानकारी गराएको छु तर अहिलेसम्म पठाएका छैनन् ।” कर्मचारी अभावकै कारण गाउँपालिकाको कार्यालय नियमित खोल्नमै समस्या भएको उहाँले बताउनुभयो ।

सो गाउँपालिकामा पाँच वटा वडाहरु छन् । ती सबै वडा कार्यालयका लागि अहिले एक जना मात्रै सचिव छन् । आफूले एक्लै पाँचवटै वडाको काम गर्न परिरहेको वडा सचिव दुर्गा भण्डारीले बताउनुभयो । “काम धेरै भयो भन्न खोजेको हैन, तर भौगोलिक हिसाबले पनि सबै काम आफूले गर्न असहज छ”, उहाँले भन्नुभयोे । वडा सचिव नहुँदा कार्यालय सहायकको भरमा चलेका वडा कार्यालयमा कागज बनाएर सेवाग्राही वडा सचिवको हस्ताक्षर गराउन घण्टौँ लगाएर गाउँपालिका कार्यालय पुग्न बाध्य छन् ।

वडा सचिव नहुँदा सेवाग्राहीलाई सकस भएको फदाप गाउँपालिका–४, सम्दुका वडाध्यक्ष नवीन चोङवाङले बताउनुभयो । “कतिपय काममा वडा सचिव नै चाहिन्छ”, उहाँले भन्नुभयोे, “आफूले गर्न नमिल्ने काममा वडा सचिव भेट्न गाउँपालिका जाउ भनेर सेवाग्राहीलाई भन्नुपर्दा आफूलाई पनि अप्ठ्यारो हुन्छ ।” आफूले जिल्लादेखि केन्द्रसम्म पनि कर्मचारी पठाइदिन भनिरहेको छु तर पठाउन ढिला भइरहेको गाउँपालिका अध्यक्ष हरि चोङवाङले बताउनुभयो ।

“गाउँसभा त पहिल्यै गरियो तर कर्मचारी नभएपछि कामले जुन गति लिनुपथ्र्यो, त्यो हुन सकिरहेको छैन”, उहाँले भन्नुभयोे । सरकारले कर्मचारी समायोजनको प्रक्रिया शुरु गर्न ढिलाइ गर्दा जिल्लाका सबै स्थानीय तहमा कर्मचारी अभावले समस्या सिर्जना हुन थालेको छ । जिल्लाका आठराइ र छथर गाउँपालिका तथा लालीगुराँस नगरपालिकामा पनि आवश्यकपर्ने जति कर्मचारी छैनन् ।

वडा कार्यालयमा अहिले पनि कार्यालय सहायकबाहेक अरु कोही पनि नभेटिने गरेका सेवाग्राहीको गुनासो छ । “चुनाव भयो, प्रतिनिधि पनि चुनियो तर अहिले पनि अवस्था उस्तै छ”, फेदाप गाउँपालिका–२ का प्रकाश गुरागार्इंले भन्नुभयो । “पहिले जनप्रतिनिधि थिएनन्, सचिव सदरमुकामै बस्थे, अहिले जनप्रतिनिधि पनि चुनियो तर कार्यालयमा भने फेरि पनि कार्यालय सहायक मात्रै भेटिन्छन्”, उहाँले थप्नुभयो । वडाध्यक्षलाई सिफारिशलगायत काममा हस्ताक्षर गराउनुपर्दा सेवाग्राही कागज बोकेर वडाध्यक्षको घरमै पुग्ने गरेका छन् तर सचिवलाई भेट्न सदरमुकाम जानुभन्दा वडाध्यक्ष भेट्न उसकै घर पुग्नु धेरै सजिलो भएको उनीहरुको तर्क छ । “पहिले सचिव भेट्न सदरमुकाम पुग्नुपथ्र्यो”, मेन्छ्यायेम गाउँपालिका–२ का नारायण दाहालले भन्नुभयो, “अहिले वडाध्यक्ष भेट्न घर जानुपर्छ, कार्यालयमा भेटिँदैनन् ।”सेवाग्राहीलाई कुरेर कार्यालयमा बस्ने फुर्सदै नहुने वडाध्यक्षहरू बताउँछन् । म्याङलुङ्ग नगरपालिका–१ वडाध्यक्ष इन्द्र तुम्बाहाम्फे भन्नुहुन्छ, “सधैँ वडा कार्यालय बसेर कहाँ पुग्थ्यो र ? कहिले कुन गाउँ पुग्नुपर्छ, कहिले कुन गाउँ ?”

आइतबार उहाँ ओख्रे गाउँमा ढलेको बिजुलीको पोल मर्मत गरिरहेको अवस्थामा भेटिनुभएको थियो । वडाध्यक्ष भएपछि गाउँमा सानातिनादेखि ठूलासम्म समस्या सुल्झाउन घरघर पुग्नुपरेको मेन्छ्यायेम गाउँपालिका–६ का वडाध्यक्ष प्रदीप बुढाथोकी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सबैका कुरा सुन्नै प¥यो, कार्यालय नबसौँ भन्ने होइन तर समय पु¥याउनै मुस्किल पर्छ ।” जनप्रतिनिधिमा पनि आवश्यक दक्षता अभाव, कर्मचारी अभाव, आवश्यक ऐन कानून अभावलगायत समस्याले आफूलाई दु्रतगतिमा काम अगाडि बढाउन चुनौती भइरहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । “आर्थिक वर्ष सकिन लाग्दा पनि धेरै योजना कार्यान्वयन गराउन सकिएको छैन, चुनौती धेरै छन् तर पनि ट्र्याक ल्याउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!