संगालोखबर सम्वाददाता

धनकुटा २६ पुस । नेपाल नर्सिङ संघ धनकुटा शाखामा आवद्ध स्वास्थ्यकर्मी विभिन्न माग राख्दै वुधवारदेखि आन्दोलनमा उत्रिएका छन् ।
नर्सिङ संघको केन्द्रीय कार्यालयले अघि सारेको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै हातमा कालो पट्टी बाँधेर स्वास्थ्य संस्थामा काम गरेको नर्सिङ संघ धनकुटा शाखा अध्यक्ष सोनी सुवेदीले जानकारी दिइन् । यसैगरी संघले विज्ञप्ति जारी गर्दै विभिन्न एघार बुँदे मागसमेत अघि सारेका छ ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्सिङ कर्मचारीलाई पुनर्वहाली गरिनु पर्ने, अधिकारसहित नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गरिनु पर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात सबै अस्पतालमा यथाशिघ्र लागु गर्न, सरकारले न्युनतम तलव भत्ता सरह विभिन्न नीजि स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराउन माग अघि सारिएको छ ।

कालो पट्टी बाँधेर काम गर्दै धनकुटाकी एक नर्स ।

यसैगरी भोलन्टीयरको नाममा भएको नर्सको श्रमशोषण बन्द गर्न, दुर्गममा काम गर्नेलाई उचित पारिश्रमिक र सुरक्षा प्रदान गर्न, सरकारी र नीजिमा कार्यरत नर्सलाई लुगा, भत्ता तथा रात्रीकालिन भत्ता, बिदा सुविधा र हार्जाड भत्ता वृद्धिगरी नीजिमा पनि सोहि अनुपात कार्यान्वयन गर्न तथा श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागु गर्नु पर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको जनाईएको छ ।

Advertisement

नेपाल नर्सिङ संघ धनकुटा शाखाका अध्यक्ष सोनी सुवेदी र सचिव बालकुमारी तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा आफ्ना माग कार्यान्वयन गर्न सरकार समक्ष ध्यानाकर्षण गराईएको छ । माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारिने अध्यक्ष सुवेदीले संगालोखबरलाई बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!