धनकुटा, १९ पुस । बन्दको समयमा गाडी तोडफोड गरेको आरोपमा धनकुटाका एक युवालाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । संखुवासभा घर भई धनकुटा–६ मा डेरागरी बस्दै आएका सुमन कटुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बन्द अवज्ञा गरेको भन्दै धनकुटामा आज दिउँसो चार वटा गाडी तोडफोड गरिएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटुवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका कटुवालको रिहाई माग गर्दै धनकुटाबासीले प्रदर्शन गरेका छन् । स्थानीय जिरोपईन्टमा साँझ टायर बालेर प्रशासन बिरुद्ध नारा लगाउँदै प्रदर्शन गरिएको हो ।
साँझबाट बिहानसम्मका लागि बन्द खुकुलो गर्ने भनिएको थियो । तर, प्रहरीले कटुवाललाई पक्राउ परेपछि बन्द खुलेको छैन । पक्राउ परेका कटुवालको रिहाई नभएसम्म बन्द नखोल्ने आन्दोलन परिचालन समितिले जनाएको छ । राती बन्द खुकुलो गरिएपनि माग पुरा नभएसम्म बन्द जारी रहने बताईएको छ ।















