संगालोखबर सम्वाददाता

धनकुटा, १८ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर्न माग गर्दै आज जिल्लाबासीले कोशी राजमार्गमा यातायात अवरुद्ध गरेका छन् । प्रादेशिक राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत धनकुटेलीले कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा दिउँसो एक घण्टा चक्काजाम गरेका हुन् ।

स्थानीय जिरोपईन्ट सयौंको संख्यामा भेला भएका स्थानीयबासीले दिउँसो १२ देखि १ बजेसम्म सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । चक्काजामका कारण तराईबाट पूर्व पहाडी जिल्लाका लागि आएका र पूर्वी पहाडी जिल्लाबाट तराई झर्ने सयौ सवारी साधन रोकिएर बसेका थिए । उनीहरुले यातायात अवरुद्ध गरेर जिरोपईन्टमा प्रदर्शनसमेत गरेका छन् ।

Advertisement

चक्काजाम पश्चात भएको सभालाई संबोधन गर्दै एमाले नेतृ तारा तितुङ, माओवादी केन्द्रका तिलकप्रसाद राई, सुन्दरवावु श्रेष्ठ, संघीय समाजवादीकी नेतृ पार्वती राई लगायतले हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर्न माग गर्दै माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

चक्काजाम अघि धनकुटा बजारमा पनि प्रदर्शन गरिएको थियो । स्थानीय मदनचौकमा भेला भएका स्थानीयले प्रादेशिक राजधानी माग गर्दै हुलाकटोल, परिचयमोड लगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

यसैवीच आन्दोलित जिल्लाबासीले आज पनि बजार बन्द गरेका छन् । बिहानैदेखि ठप्प रहेको धनकुटा बजार अपरान्हबाट भने खुलेको छ ।

तस्वीरहरु हेर्नुहोस् …

तस्वीरहरु: रबिन कटेल/संगालोखबर

धनकुटामा प्रादेशिक राजधानी माग्दै राजमार्ग अवरुद्ध, बजार बन्द गरेर प्रदर्शन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!