
झापा, ११ पुस । सरकारले लागू गरेको नियम मिच्दै सार्वजनिक स्थलहरुमा जथाभावी मदिराजन्य पदार्थको बिक्री भइरहँदा नियमनकारी निकाय भने रमिते बन्ने गरेको छ । आवश्यक इजाजत पत्र लिएर तोकिएको स्थानहरुमा मात्र बिक्री गर्न पाइने मदिराजन्य पदार्थको जथाभावी बिक्रीले सवारी दुर्घटना, झैझगडा, घरेलु हिंसालगायतका घटनाहरुमा समेत वृद्धि भएको सरोकारवालाहरुको भनाइ छ ।
समाजमा अवाञ्छित गतिविधि गराउन सहयोग पुग्ने र मानव स्वास्थ्यको लागि हानिकारक रहेको मदिराजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि सञ्चालन हुने अभियान, गोष्ठी, तालिम लगायतका कार्यक्रमहरु केवल देखावटीमा मात्र सीमित भएको पाइन्छ ।
यसैबीच झापाको अर्जुनधारा–९ सालबारीस्थित पर्यटकीय स्थल सुखानी शहीद स्मृति उद्यानमा सोमबार पूर्वाञ्चलकर्मी पुग्दा उद्यानभित्र सञ्चालनरत् पसल र उद्यान परिसर नजिक मदिराजन्य पदार्थको जथाभावी बिक्री वितरण भइरहेको भेटियो ।
उद्यानभित्र सञ्चालनरत् पसलमा गोप्यरुपमा बिक्री गरेको मदिराजन्य पदार्थ उद्यान परिसर नजिक भने खुल्ला बिक्री भइरहेको थियो । उद्यानको नियम विपरीत उद्यानभित्र पसल सञ्चालकले गोप्य तरिकाबाट त्यसरी मदिराजन्य पदार्थको बिक्री गर्नु गलत भएको उद्यान व्यवस्थापन समितिले स्वीकारेको छ ।
आगामी दिनमा उद्यानभित्र मात्र नभई उद्यान परिसर नजिक रहेको पसलहरुमा समेत अनुगमन गर्ने र कमजोरी फेला परे सम्बन्धित निकायसँग समन्वय गरी नियन्त्रणका कार्यहरु सञ्चालन गरिने बताइएको छ ।
त्यसैगरी शनिश्चरे प्रहरी चौकीका असई सुरेशकुमार निरौलाले सार्वजनिक स्थलमा जथाभावी बिक्री गरिने मदिराजन्य पदार्थ नियन्त्रणको लागि प्रहरी एक्लैको प्रयासले सफल नहुने बताए । यसको नियन्त्रणको लागि स्थानीय र सम्बन्धित निकायले सहयोग गर्नुपर्नेमा असई निरौलाको जोड रहेको थियो । ‘नियन्त्रणमा लिएपश्चात् विभिन्न व्यक्तित्वहरुबाट पटक–पटक आउने फोन कल हाम्रो लागि थप चुनौति हो’– उनले भने ।
यता यस विषयमा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानासँग बुझ्दा उनले नगरपालिकाले नियन्त्रण गर्न नसक्नुभन्दा पनि हिजोदेखि चल्दै आएको परम्परा तत्काल परिवर्तन गर्न असम्भव र लामो समयसम्मको संक्रमणकालका कारण समस्या समाधान गर्न नसकेको बताए ।
घटेनन् मादक पदार्थ सेवनकर्ता
मादकपदार्थ सेवन गरेर सवारी चलाउने सवारी चालकलाई ट्राफिक प्रहरीले कडाईका साथ कार्वाही गरे पनि मादक पदार्थ सेवनकर्ता घटेका छैनन् ।
प्रत्येक महिना ट्राफिक प्रहरीले एक लाख रुपैयाँको हाराहारीमा राजश्व संकलन गर्छ । मादकपदार्थ सेवन गरेर सवारी चलाउनेबाट ट्राफिकले प्रतिव्यक्ति एक हजार रुपैयाँ जरिवाना असुल्ने गरेको छ । तर, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्यामा भने कमी नआएको पाइएको छ ।
चालू आर्थिक बर्षको ५ महिनामा ४ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा सबैभन्दा बढी मोटरसाइकल चालक कार्वाहीमा परेका छन् । चार सय ६० वटा सवारी चालक कार्वाहीमा पर्दा ४ लाख ६० हजार रुपैयाँ राजश्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । जसमध्ये मोटरसाइकल चालक तीन सय ८४ जना कार्वाहीमा परेका छन् ।
उता अघिल्लो आर्थिक बर्ष एक हजार ४ सय ५० वटा सवारीका चालक कार्वाहीमा परेका थिए । जसबाट प्रहरीले १४ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । जसमा ११ सय ६६ वटा मोटरसाइकल चालक कार्वाहीमा परेका थिए ।















