सिरहा, १५ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको मिति नजिकिँदै गर्दा सिरहामा चुवनाव प्रसार कार्यालय र उम्मेदवार लक्षित विष्फोट र गोली प्रहारको घटना बढेका छन् ।

Advertisement

मंसिर ८ गते सिरहाको क्षेत्र नं. ४ मा पर्ने मिर्चैया नगरपालिका ५ स्थित वाम गठबन्धनको कार्यालय नजिकै भएको बम विष्फोटबाट शुरु भएको विष्फोट र गोली प्रहारको घटना बिहीबार उम्मेदवारको घर र चुनाव प्रचारको जीपसम्म आइपुगेको छ ।

पछिल्लो एक हप्ताको अवधिमा निर्वाचनलाई नै केन्द्रित गरेर हताहती नै हुनेगरी विष्फोटका घटना नभएपनि आधा दर्जनभन्दा बढी ठाउँमा भएका विष्फोटका घटनाले सर्वसाधारणमा भने त्रास बढेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार काङ्ग्रेसको चुनावी आमसभालाई सम्बोधन गरेको भगवानपुरमै संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नं. १ का उम्मेदवार रहेका राजलाल यादव चढेको जीपमा नै बिहीबार राती गोली प्रहार भयो भने वाम गठबन्धनबाट सिरहा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेशचन्द्र दासको औरहीस्थित घर नजिकैको करेसा बारीमा शक्तिशाली विष्फोट भएको छ ।

त्यसअघि सिरहाको धनगढीमाई नगरपालिका ५ फुलकहाकट्टीमा फोरमबाट प्रतिनिधिसभा सदस्यका लागि २ नं. क्षेत्रका प्रत्याशी पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंह चढेको जीपमा कुकर बम भेटिएको थियो । निर्वाचन प्रसार प्रसारका लागि सिंह चढेको बा. ३ च ७६६१ नम्बरको जिपमा कुकर बम भेटिएको थियो ।

सुरक्षा व्यवस्था भरपर्दो : प्रहरी

दोस्रो चरण अन्तर्गत हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारको क्रममा विष्फोटको घटना हुन थालेपछि सिरहा प्रहरीले सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार निर्वाचनको तयारी र मतदानको समयसम्म सर्वसाधारणलाई भरपर्दो सुरक्षा दिन जिल्लाका अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलमा दुई हजार तीन सय ५० म्यादीसहित दुई हजार दुई सय ५० नेपाल प्रहरी परिचालन गरिएको छ ।

त्यससँगै प्रहरी निरीक्षकको कमाण्डमा जिल्लामा २० जना प्रहरी रहने गरी रिजर्भ फोर्ससँगै हरेक गाउँ र नगरपालिकामा दुई/दुई वटाको दरले  ३४ वटा मोवाइल टोली परिचालन गरिंदैछ ।

मतदानको दिन मतदानस्थलको सुरक्षाको भित्री भागमा म्यादी र नेपाल प्रहरी, त्यसको बाहिर सशस्त्र र बाहिरी भागको सुरक्षा नेपाली सेनाले गर्ने गरी सुरक्षा योजना बनाइएको प्रहरी उपरीक्षक कोइरालाले बताए । प्रहरी उपरीक्षक कोइरालाका अनुसार त्यसका अतिरिक्त निर्वाचन नहुञ्जेल सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका जिल्लाका ५० ठाउँमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अस्थायी विकेट टोली २४ घण्टा परिचालन गरिएको छ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गोपाल गुरुङ्का अनुसार जिल्लाको १ र ३ नं. क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा राखेर पाँच÷पाँच वटा स्ट्रयाकिङ् फोर्स, आठ÷आठ वटा मोवाइल टोली र क्षेत्रभरी हेर्नेगरी डिएसपीको कमाण्डमा २० जनाको रिजर्व टोली खटाइएको छ । क्षेत्र नं. २ र ४ लाई अति संवेदनशील क्षेत्रको रुपमा राख्दै १०÷१० वटा मोवाइल टोली र पाँच/पाँच वटा स्ट्राकिङ फोर्स परिचालन गरिएको छ । त्यस्तै, जिल्लाको समग्र निर्वाचन सुरक्षालाई कभर गर्नेगरी नेपाली सेनाले भने जिल्लाको १३ स्थानमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी सुरक्षाको प्रबन्ध मिलाएको नेपाली सेनाको चोहर्वा गणले जनाएको छ ।

विष्फोटले आत्तिएको छैन : यादव

प्रतिनिधिसभाका लागि सिरहा क्षेत्र नं. २ मा वाम गठबन्धनबाट नेकपा

(माओवादी केन्द्र) का उम्मेदवार सुरेशचन्द्र दास यादवले विष्फोटको घटनाले आफू नआत्तिएको बताएका छन् । चुनाव प्रचार प्रसार सकेर बिहीबार घर नआईपुग्दै दासको औरहीस्थित घर नजिकै करेसाबारीमा भएको शक्तिशाली विष्फोटले पर्खालमा सामन्य क्षति मात्र पुगेको छ ।

‘मेरो राजनीतिक जीवन, दुई–दुई पल्ट सांसद जितेर जनताको पक्षमा गरेको कामको कारणले मेरो जितको घोषणा हुन मात्र बाँकी छ’ विष्फोटपछि फोन सम्पर्कमा दासले भने ‘मेरो उम्मेदवारी परेदेखि नै आत्तिएकाहरुले विष्फोट गराएका हुन सक्छन्, म डराएको छैन, किनकी म जनताको सुरक्षाबीच घरदैलोमै हुन्छु ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया