सप्तरी, १२ मंसिर । सप्तरीको राजविराजस्थित कौलौरी सडकखण्ड अन्तर्गतको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकै फेला परेको शक्तिशाली प्रेसरकुकर बम सेनाको टोलीले निष्क्रिय पारेको छ ।
गएराती १२ बजे नहरचोकमा एक शंकास्पद व्यक्तिको साथबाट रिमोर्ट फेला परेपछि धानखेतभित्र राखिएको रिमोर्ट बम सेनाको टोलीले निष्क्रिय पारेको सप्तरीका एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
विप्लव समूहका कार्यकर्ता भएको आशंकामा ती व्यक्तिसहित २ जनालाई प्रहरीले नियन्त्रणमा राखि अनुसन्धान गरिरहेको बताएको छ ।
त्यस्तै गएराती ८ बजे तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ सखरपुरामा एक घरबाट १ थान नलकटुवा पेस्तोल र २ राउण्ड गोली भेटिएको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले सो घरमा रहेका ४ जनालाई नियन्त्रणमा लिएको एसपी मुकेश सिंहले जानकारी दिनुभयो ।