धनकुटा, ३० कात्तिक । व्यवस्था परिवर्तनका लागि जुट्नेक्रममा मारिएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा नगरिनु छिन्ताङ हत्याकाण्डका पीडित परिवारको सबैभन्दा ठुलो चित्त दुखाई छ । छिन्ताङ हत्या काण्डको ३९ औं स्मृति दिवसमा मनाउने क्रममा उनीहरुले राज्यले राष्ट्रिय रुपमा सहिद घोषणा गर्ने भन्दै आएको वर्षौ बितेपनि हालसम्म आश्वासनमा मात्र सिमित भएको गुनासो पोखे ।
२०३६ सहिद परिवार संरक्षण समिति छिन्ताङ्ले आयोजना गरेको कार्यक्रममा उपस्थित सहिद परिवारका सदस्यले आफ्ना आफन्तजन गुमाउ“दाको पीडाबोधमा राज्यले सान्त्वना दिने काम नगरेको दुखेसो पोखे । तत्कालिन शासकको विरोध गरेको भन्दै २०३६ सालमा छिन्ताङ्का १६ सर्वसाधारणको हत्या गरिएको थियो ।
सहिद पुत्र योगेन्द्र राईले पञ्चायतकालमा छिन्ताङ हत्या काण्ड मच्चाउने वर्ग नै निर्वाचन बेला उमेद्वार बन्ने गरेको भन्दै कटाक्ष पोखे । ‘पीडित वर्ग सधैं पीडित नै भइरहनु पर्ने कस्तो परिवर्तन् ?’ उनले भने, ‘छिन्ताङ हत्या काण्डका नाईके र उनका शाखा सन्तान नै जनतालाई गुम्राहामा पार्दै आएका छन् ।’ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा जोड्दै उनले छिन्ताङ हत्या काण्ड गराउन नेतृत्व गर्नेले उमेद्वार बनेर सहिदको अपमान गरिरहेको बताए ।
वर्षौसम्म आफुहरुको अवस्था सुध्रन नसकेको भन्दै उनले राष्ट्रको नाममा ज्यान गुमाएकाहरुप्रति राज्य कहिल्यै गम्भीर नभएको बताए ।
सहिद परिवार संरक्षण समितिका अध्यक्ष तथा सहिद पुत्र बलराम राईले पनि सहिदको नाम बेचेर कमाउने धेरै भएपनि आफुहरुको अवस्थाप्रति चासो नदिएको बताए । अर्का सहिद पुत्र योगेन्द्र राईले छिन्ताङ काण्ड मच्चाउनेले छिन्ताङमा प्रवेश गर्न नपाउने तर्क राखे ।
दिवसको प्रमुख अतिथी तथा माओवादी केन्द्रका नेता धर्मशिला चापागाईले छिन्ताङ घटनामा मारिएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्नु दुखद रहेका बताइन् । राष्ट्रिय सहिदबाट सम्मान दिलाउन आफु सक्दो सहयोग गर्ने उनको आश्वासन दिइन् । चापागाईले निर्वाचनको सम्मुखमा आतंक मच्चाएर निर्वाचन भाड्ने षडयन्त्र रचिएको दावी गरिन् ।
कार्यक्रममा एमालेबाट प्रतिनिधिसभाका उमेद्वार राजेन्द्र राई, प्रदेशसभाका उमेद्वार निरन राई, इन्द्रमणी पराजुली लगायतले मन्तव्य राख्दै छिन्ताङमा हत्याकाण्ड मञ्चाउनेका सन्तानहरुनै अहिले उम्मेद्वार भएर जनतालाई बिभिन्न प्रलोभनमा पारी भोग माग्न आउन थालेकाले सचेत हुन मतदातालाई आग्रह गरेका छन ।