धनकुटा, २८ कात्तिक । महिला पुरुष लामबद्ध थिए । निर्वाचन अधिकृतले मतपत्र वितरण गरिरहेका थिए । मतदाता मतपेटिकामा आफ्ना उमेद्वारलाई मत खसालिरहेका देखिन्थे ।
झट्ट नियाल्दा निर्वाचनमा मतदान भइरहेको छनक हुन्थ्यो । तर त्यहॉ वास्तविक नभएर नमुना मतदान कार्य भइरहेको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने तौरतरिकाबारे जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको थियो ।
निर्वाचन मिति नजिकीरह‘दा मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्धेश्यले उक्त नमुना मतदान कार्य गरिएको जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले जानकारी दिए ।
निर्वाचन कार्यालयले मतदाता शिक्षा प्रभावकारी बनाउन जनशक्ति तयार पारिसकिएकोले तत्काल परिचालन गरिने रेग्मीले बताए । ‘मतदाताको घरदैलोमा पुग्ने जनशक्तिलाई प्रयोगात्मक विधि अपनाएर तालिम दिईएको छ’, रेग्मीले भने, ‘बदर मत सक्दो रुपमा कम गराउने प्रयासमा जुटेका छौं ।’
मतदाता शिक्षाका लागि खटिने जनशक्तिलाई स्पष्ट पार्ने उदेश्यले नमुना मतदान गरिएको हो । निर्वाचन शिक्षाका लागि १ सय ५३ जनशक्ति परिचालन गरिने भएको छ । जिल्लास्थित स्थानीय तहमा कार्यरत ४३ सामाजिक परिचालकलाई निर्वाचन शिक्षा कार्यकर्ता, १४ स्वास्थ्य स्वयम्सेवीका तथा ९६ जना बाल विकास केन्द्रका शिक्षकलाई निर्वाचन कार्यालयले मतदाता शिक्षा तालिम दिएको छ ।
विगतका निर्वाचनमा जिल्लामा बदर मतको संख्या न्युन रहेकोले यसपटक पनि मतदाता शिक्षा प्रभावकारी रहने रेग्मीको दावी छ । नमुना मतदानमा खसेका एक सय बढि मतमा कुनै पनि बदर नभएको निर्वाचन कार्यालयका कर्मचारी यादवबाबु तिम्सिनाले बताए । मतदाता शिक्षक तथा स्वयम्सेवकलाई आगामी आइतवार निर्वाचन सामाग्री वितरण गरिने भएको छ ।
उनीहरुलाई आगामी सोमवारदेखि मतदाताको घरदैलोमा पुग्नेगरी परिचालन गरिन लागिएको निर्वाचन कार्यालयका सुचना अधिकारी केशव पौडेलले बताए ।
प्रतिनिधिसभामा एक मात्र क्षेत्र रहेको जिल्लाका १ सय ५३ मतदान केन्द्र कायम गरिएको छ । स्थानीय तहको निर्वाचनपछि जिल्लामा १० केन्द्र थप गरिएको हो ।
स्थानीय तहको निर्वाचनमा प्रयोग गरिएका मतपेटिका बाहेक अपुग पेटिका माग गरिएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ । यसैबिच निर्वाचन प्रचारप्रसारका क्रममा हालसम्म जटिल प्रकारका गुनासो नआएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।