सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । धनकुटा, सङ्खुवासभा र भोजपुर कार्यक्षेत्र रहने गरी जिल्ला समन्वय समितिको भवनमा आज कार्यालयको स्थापना गरिएको हो ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठ र पूर्वाधार विकास डिभिजन कार्यालय धनकुटाका प्रमुख हुतराज चौहान लगायतले संयुक्त रूपमा कार्यलयको उद्‌घाटन गरेका हुन् ।

Advertisement

कार्यालयबाट स्थानीय पूर्वाधार विकास, सडक तथा पुल निर्माण र ग्रामीण क्षेत्रका पूर्वाधारसम्बन्धी काम हुनेछन् । कार्यालयमा एक जना कार्यालय सहयोगिसहित ११ जना स्थायी कर्मचारीको दरबन्दी रहने छ । गत असोज १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभाग मातहतमा डिभिजन कार्यालय स्थापना गरिएको हो ।

उद्‌घाटन समारोहमा बोल्दै कार्यालय प्रमुख चौहानले जिल्लामा हुने विभिन्न विकास निर्माणलगायतका क्षेत्रमा कार्यालयले काम गर्ने बताए । सडक निर्माण नहुँदा स्थानीय जनताले खेप्दै आएको सास्ती हब अन्त्य हुने उनको भनाइ छ ।

जसका लागि स्थानीय नागरिक, जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरूको साथ आवश्यक पर्ने उनले बताए । जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तामाङले कार्यालय स्थापना भएपछि जिल्लामा विकास निर्माणका काम धेरै हुने अपेक्षा गरेको बताए ।

अपुरा सडक निर्माण पश्चात् किसानले उत्पादन गरेको तरकारी तथा दूधजन्य बस्तु बिक्रीका लागि बजारसम्म लैजान सहज हुने समन्वय प्रमुख तामाङले बताए । कार्यालय स्थापनासँगै धनकुटासँगै छिमेकी जिल्लाका नागरिकले सहजता पाउने अपेक्षा गरेको उनले जानकारी दिए ।

कार्यालयका लागि जिल्लामा रहेका सरकारी खाली भवन प्रयोगमा ल्याउन छलफल भइरहेको उनको भनाइ छ । उनले भाडामा सञ्चालन हुँदै आएका कार्यालयहरूलाई सरकारी भवनमा सारिने जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!