
विराटनगर । सुन्दर भविष्य र रोजगारीको सपना बोकेर विदेश जाने आशामा भारत पुगेका तीन नेपाली नागरिक ४५ दिनपछि बन्धकमुक्त भएका छन् । सर्बिया पठाइदिने प्रलोभनमा दिल्ली पुर्याइएका उनीहरूलाई त्यहीको एक होटलमा बन्धक बनाइएको थियो ।
उनीहरूलाई सामाजिक संस्था किन इन्डिया सहित सम्बन्धित निकायको संयुक्त पहलमा सकुशल उद्धार गरिएको हो । दिल्ली ल्याइएका उनीहरूलाई होटलको कोठामा नियन्त्रणमा राखेर मानसिक यातना दिइएको थियो ।
घटनाबारे जानकारी प्राप्त भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, दिल्ली प्रहरी तथा किन इन्डियाले तत्काल सक्रियता देखाएका थिए । सम्बन्धित निकायबीचको समन्वय र संयुक्त प्रयासपछि तीनै जना नेपाली नागरिकलाई बन्धक अवस्थाबाट सकुशल उद्धार गरिएको किन इन्डियाका निर्देशक नवीन जोशीले बताए ।
वैदेशिक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई भारतमा ल्याएर बन्धक बनाउने तथा शोषण गर्ने घटनाप्रति सबै सचेत हुन आवश्यक रहेको उनले बताए । विदेश जाने क्रममा रोजगारदाता, म्यानपावर कम्पनी र आवश्यक कागजातको अधिकारिकता जाँच गर्नुपर्ने उनको भनाइ छ ।
उद्धार गरिएका तीनै जनाको सुरक्षा, संरक्षण तथा स्वदेश फिर्तीका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए । उनीहरूलाई सुरक्षित रूपमा घर फर्काउने र सम्मानजनक पुनर्स्थापनामा सहयोग गर्नु पनि संस्थाको प्राथमिकता रहेको उनले बताए ।

संगालोखबर 



















