
विराटनगर । संघीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकाले तय गरेको एक दशक लामो विकास यात्रा, स्थानीय सरकारको अभ्यास र उपलब्धिलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ११ ले प्रकाशन गरेको ‘महानगरका दश वर्ष अनुभव र उपलब्धि’ नामक पुस्तक आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सभाका पूर्वसदस्य खेम नेपाली, कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादव, महानगरपालिकाकी पूर्वउपप्रमुख इन्दिरा कार्की, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह र अर्थशास्त्री डा. भेषप्रसाद धमलालगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकले संघीयता कार्यान्वयनपछिको विराटनगरको विकासक्रम, स्थानीय सरकारको कार्यसम्पादन, नेतृत्वको भूमिका र हासिल भएका उपलब्धिलाई दस्तावेजका रूपमा प्रस्तुत गरेको छ । महानगरको विगतलाई अभिलेखीकरण गर्दै वर्तमानको समीक्षा र भविष्यको कार्यदिशा पहिल्याउन पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।
पुस्तक सार्वजनिक गर्दै महानगर प्रमुख नागेश कोइरालाले यसलाई विराटनगरको इतिहास, विकासक्रम र स्थानीय शासन प्रणाली बुझ्न सघाउने महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा व्याख्या गरे । उनका अनुसार पुस्तक वर्तमान पुस्ताका लागि मात्रै नभई भावी पुस्ताले पनि महानगरको विगत, विकासका विभिन्न चरण र नेतृत्वको योगदान बुझ्न सक्ने आधार बन्नेछ ।
स्थानीय सरकार कसरी सञ्चालन हुन्छ, विभिन्न कालखण्डमा नेतृत्वले कस्तो भूमिका निर्वाह गरे र विकासका प्रयास कसरी अघि बढे भन्ने विषयको अध्ययनका लागि पनि पुस्तक महत्वपूर्ण हुने कोइरालाको भनाइ थियो ।
उपप्रमुख शिल्पा निराला कार्कीले पुस्तकले महानगरको एक दशकको अनुभव र उपलब्धिलाई अभिलेखबद्ध गरेको बताइन् । विगतका अभ्यास र अनुभवको अध्ययनले आगामी दिनमा योजना निर्माण, नीतिगत सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
पुस्तक प्रकाशन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले पुस्तक प्रकाशन गर्ने वडाको योजनालाई महानगर कार्यपालिकाले अनुमोदन गरेकोमा आभार व्यक्त गरे । उनले पछिल्लो एक दशकमा महानगरले गरेका अभ्यास, प्रयास, उपलब्धि र चुनौतीलाई समग्रतामा समेट्ने प्रयास गरिएको बताए ।
पुस्तकका सम्पादक तथा वरिष्ठ पत्रकार यज्ञ शर्माले विराटनगरको स्थानीय शासन र विकासको अनुभव समेटिएको पुस्तक अन्य स्थानीय तहका जनप्रतिनिधि, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा आम नागरिकका लागि समेत उपयोगी हुने बताए ।
स्थानीय तहको अभ्यास र अनुभवलाई दस्तावेजीकरण गर्ने कामले भविष्यमा नीति निर्माण र विकासका प्राथमिकता निर्धारण गर्न सघाउने उनको भनाइ थियो । पुस्तकमा संघीयतामा स्थानीय तहको भूमिका, विराटनगर महानगरपालिकाको परिचय, स्थापनाकालदेखि हालसम्मको नेतृत्व र योगदानको समीक्षा समेटिएको छ ।
त्यस्तै, संघीयतापछिका महानगर प्रमुख तथा उपप्रमुखसँगका अन्तर्वार्ता, वडा कार्यालयहरूको अवस्था, महानगरका १९ वटै वडाको परिचय र पछिल्लो एक दशकमा भएका विकासका प्रयास, उपलब्धि तथा चुनौतीलाई पनि पुस्तकमा समावेश गरिएको छ ।

संगालोखबर 



















