
विराटनगर । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अस्वीन तोलाङ्गे कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालनासँगै उच्च मनोबलका साथ काम गरेको भन्दै इन्स्पेक्टर तोलाङ्गेलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
उनले बेलका नगरपालिका-३ जगनास्थित गिदेरी खोलाको काँसघारीमा १४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका प्रतिवादी समिर परियारलाई पक्राउ गर्न सफल भएका थिए ।
यस्तै बेलका-९ रामपुर बजारमा ५६ वर्षीया लक्ष्मीमाया राईलाई बोलेरोले ठक्कर दिँदा मृत्यु भएको थियो । दुर्घटनापश्चात फरार भएका चालक प्रेमबहादुर बिकलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन उनले भूमिका खेलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बेलका-७ स्थित पित्लाङ जङ्गलमा बेवारिसे अवस्थामा लुकाएर राखेको २ हजार ८२० किलो गाँजा बरामद गर्नुका साथै सोही स्थानको ६ रोपनी क्षेत्रफलमा लगाइएको २ हजार २ सय बोट गाँजा फँडानीमा उनले भूमिका खेलेका थिए ।
अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले उच्च मनोबलका साथ कर्तव्य पालना गर्दै सफल अपराध अनुसन्धान र लागूऔषध नियन्त्रणमा अनुकरणीय योगदान पुर्याएको भन्दै उनलाई सर्वोत्कृष्ट घोषणा गरिएको कार्यालयले जनाएको छ ।

संगालोखबर 



















