
विराटनगर । कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगितामा सुनसरीलाई हराउँदै झापा च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा सुनसरीमाथि ६ विकेटको जित निकाल्दै झापा च्याम्पियन बनेको हो ।
पुरुष क्रिकेट जितेसँगै झापाले तीन वटा गोल्ड मेडल जितेको छ । यसअघि झापाले महिला क्रिकेटमा मोरङलाई हराएको थियो भने पुरुष फुटबलको छनोट खेलमा खोटाङलाई हराएर स्वर्ण पदक जितेको थियो ।
पुरुष क्रिकेटतर्फ सुनसरीलाई हराएर झापा कोशी प्रदेशकै च्याम्पियन बनेको हो । विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउण्डमा झापाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुनसरीले सात विकेटको क्षतिमा १०० रन बनाएको थियो ।
सुनसरीका लागि रविन मण्डलले ४२ रन बनाउँदा सोनु मण्डलले २२ रन जोडे भने रोहन साहले अविजित १६ तथा समीर तिम्सिनाले ११ रन बनाए । बलिङतर्फ विपिन महतो र सुजनप्रसाद घिमिरेले तीन/तीन विकेट लिँदा विजय कार्कीले एक विकेट लिए ।
सुनसरीले दिएको १०१ रनको लक्ष्य झापाले १९.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । झापाका लागि कप्तान अङ्कित सुवेदीले ४४ रन बनाए भने भूपाल दंगालले ३८ रन जोडे । बलिङतर्फ रोहन साहले २ विकेट लिए ।
त्यसअघि सेमिफाइनलमा झापाले उदयपुर तथा सुनसरीले मोरङलाई स्तब्ध बनाएका थिए । पहिलोपल्ट नौ जिल्लालाई सहभागी गराएर प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता आयोजना गरेको हो ।
छनोट प्रतियोगिताबाट १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने १४ जना खेलाडीहरू चयन गरिएको छ । पूर्वअन्तर्राष्ट्रियय खेलाडी सिद्धान्त लोहनीसहितको छनोट समितिले छानिएका खेलाडीहरूको नामवाली बुझाइसकेको छ ।
अब छनोट भएका खेलाडीहरूलाई क्लोज क्याम्पका लागि डाकिने प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताका संयोजक टीकाराम पुरीले जानकारी दिए । बोर्डका सदस्य सचिव विप्लव घोषले यसपालि छनोटका लागि लिग नै आयोजना गर्ने तयारी भए पनि समयको अभावले गर्दा छोटोमा सीमित गर्नुपरेको बताए ।

संगालोखबर 



















