
विराटनगर । सुनसरीको इनरुवाबाट पार्किङमा राखिएको ट्याङ्कर चोरी भएको छ । सुनसरी आयलमा पार्किङ गरेर राखिएको को १ ख २३३९ नम्बरको डिजेल लोड भएको ट्याङ्कर सोमबार चोरी भएको हो ।
बाराको अमलेखगन्जबाट डिजेल बोकेर विराटनगरका लागि आएको ट्याङ्कर चोरी भएको नेपाल आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।
चोरी भएको ट्याङ्कर सोमबार नै इनरुवा नगरपालिका-६ स्थित हलेसी चोकमा फेला परेको छ । अहिले उक्त ट्याङ्कर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको कार्कीले बताए । ‘चोरी भएको ट्याङ्कर फेला परेको छ’, कार्कीले संगालोखबरसँग भने, ‘तर एक हजार ५८० लिटर डिजेल चोरी भएको पाइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।’
निगमबाट गएको टोलीले डिजेलको गुणस्तर जाँच गरेको र गुणस्तर सही पाइएको उनले बताए । उनका अनुसार जति डिजेल चोरी भएको त्यसकै दोब्बर हिसाब गरेर बजार मूल्य अनुसार चालकबाट केन्द्रिय कार्यालयले असुल उपर गर्ने उनले जानकारी दिए ।
यस्तै उक्त ट्याङ्करलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार तीन महिनासम्म तेल बोक्न नपाउने गरी निलम्बन गरिने कार्कीले उल्लेख गरे । यस्तै चालक र सह-चालकलाई आजीवन ट्याङ्कर चलाउन प्रतिबन्ध हुने उनले बताए ।
यसअघि पनि असार ७ गते विराटनगरको कञ्चनबारीस्थित पार्किङस्थलमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरको २० हजार लिटर पेट्रोल भरिएको ट्याङ्कर चोरी भएको थियो ।
उक्त ट्याङ्कर सुनसरीको भोक्राहानरसिँह गाउँपालिका-८ स्थित हुलाकी सडकखण्डमा फेला परेपनि झण्डै एक हजार लिटर इन्धन चोरी भएको थियो । यसअगाडि पनि बारम्बार पार्किङस्थलबाट नै ट्याङ्कर चोरी भएका थिए ।

संगालोखबर 



















