सन्तोष सुवेदी/संगालोखबर
बेपत्ता छोरोको बाल्यकालको फोटो देखाउँदै थापा । तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८, स्थित फाङ्दुवा (तत्कालीन मुगा गाविस वडा नम्बर ६) का ८३ वर्षीय ज्ञानेन्द्रबहादुर थापाले करिब तीन दशकदेखि बेपत्ता छोराको खोजी गरिदिन आग्रह गरेका छन् । २६ वर्षदेखि सम्पर्कविहीन कान्छो छोरा सीतारामको खोजी गरिदिन उनले आग्रह गरेका हुन् ।

२०३९ साल फागुनमा जन्मिएको कान्छो छोरो २०५७ सालदेखि सम्पर्कविहीन भएको उनले बताए । ‘छोरो घर फर्कने आशामा लामो समय प्रतीक्षा गरियो । यत्तिका वर्षसम्म पनि छोरो घर फर्किएको छैन’, उनले भने, ‘छोराको खोजीका लागि सबैसँग आग्रह गरिरहेको छु । अहिलेसम्म केही अत्तोपत्तो लाग्न सकेको छैन ।’

Advertisement

धनकुटाका निर्भिकार श्रेष्ठकी श्रीमती काठमाडौंमा शिक्षा मन्त्रालयको डाइरेक्टर भएको बेला घरमा काम गर्न लगेको भन्ने सुन्नमा आएको थापाले सुनाए । तर अहिलेसम्म कुनै जानकारी पाउन नसकेको उनले बताए ।

काठमाडौंमा काम गर्न लगेको भन्ने थाहा पाएपछि आफूले पनि केही सोधिखोजी नगरेको उनले बताए । ‘के कति ज्यालादारी कबलेर लगेको थियो । त्यो पनि थाहा थिएन’, उनले थपे, ‘लामो समयदेखि छोरो फर्किएन । अहिले सामाजिक सञ्जाल फेसबुकमा वर्षौंदेखि हराएका मान्छे आएको भन्ने सुनेको, देखेको छु । त्यही भएर मेरो छोरो पनि फर्किन्छ भन्ने आशा लागेको छ ।’

छोरो घर आउँछ र नागरिकता बनाएर आफूसँग भएको जायजेथा दिन पाउँ भन्ने प्रतीक्षामा ज्ञानेन्द्रबहादुर बसेका छन् । वर्षौंदेखि बेपत्ता छोराले आफ्नो ठाउँ र परिवार बिर्सिएको हुनसक्ने भन्दै उनले सोधिखोजी पछि पत्ता लाग्न सक्ने झिनो आशा बोकेका छन् । छोरो फर्कने आशमा ज्ञानेन्द्रबहादुर घरमा एक्लै कुरेर बसेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!