संगालोखबर


विराटनगर । तमोर करिडोरअन्तरगत मूलघाट माझीटारदेखि सुभाङ गणेश चोकसम्मको सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै सडक विभागले निर्माण कम्पनीसँग स्पष्टिकरण मागेको छ ।

सडक विभागको उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गतको चतरा-मूलघाट–सुभाङखोला सडक योजनाले काठमाडौंको मैतिदेवीस्थित एम/एस एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिसँग स्पष्टिकरण मागेको हो ।

लामो समयदेखि सम्झौताअनुसार काम नगरेको भन्दै निर्माण कम्पनीलाई विभागले ठेक्का सम्झौता किन नतोड्ने भन्दै १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

योजना कार्यालयका अनुसार निर्माण व्यवसायीले लामो समयदेखि काममा ढिलासुस्ती गर्दै आएको, पटक-पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि कार्य प्रगति नदेखाएको, त्रुटिपूर्ण कामहरू नसच्याएको र संशोधित कार्यतालिका अनुसार काम अघि बढाउन चासो नदेखाएको उल्लेख छ ।

निर्माण कम्पनीको यो लापरवाही ठेक्का सम्झौताको गम्भीर उल्लङ्घन भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ (२) तथा सम्झौताका सर्तहरू बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ ।

सूचना प्रकाशित भएको मिति (२०८३ कात्तिक १९ गते) ले १५ दिनभित्र कार्य सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, भरपर्दो स्रोत-साधन परिचालन योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का रद्द नगर्नुपर्ने कुनै मनासिब कारण भए लिखित स्पष्टीकरणसहित आधिकारिक प्रतिनिधिलाई कार्यालयमा उपस्थित हुन भनिएको छ ।

तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण र कार्य सम्पन्न गर्ने विश्वसनीय आधार पेश नगरेमा कानुनबमोजिम ठेक्का रद्द गर्नेतर्फ कारबाही अघि बढाइने योजना प्रमुखले चेतावनी दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!