
विराटनगर । विराटनगरका व्यवसायी ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यापछि शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा दुई नाबालक पनि पक्राउ परेका छन् ।
आज सुनसरी प्रहरीले पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न मूख्य अभियुक्तसहित दुई नाबालकलाई सार्वजनिक गरेको हो । प्रहरीले मंगलबार साँझ नै मुख्य अभियुक्त अफरोज आलमलाई पक्राउ गरेको थियो ।
विराटनगर-६ मा बस्दै आएका गुप्तालाई विराटनगर-६ स्वागत चोकका ३६ वर्षीय आलमले कात्तिक ६ गते शुक्रबार दिउँसो आफ्नो घरमा बोलाएका थिए । प्रहरीका अनुसार सो क्रममा उनीहरूबीच विवाद भएको थियो ।
विवादका क्रममा आलमले गुप्तामाथि फलामको जीआई पाइपले टाउकोमा प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।
जीआई पाइप प्रहारबाट गुप्ताको मृत्यु भएपछि घटनालाई लुकाउन आलमले एक भारतीय र एक नेपाली नाबालकको सहयोग लिएको खुलेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उनीहरूको उमेर १३ र १६ वर्ष छ ।
हत्यापछि शवलाई कार्पेटमा पोको पारेर सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केशलिया खोलाको किनारमा फालिएको प्रहरीले जनाएको छ । आइतबार बिहान स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगेर अनुसन्धान अघि बढाउँदा मृतक विराटनगरमा लामो समयदेखि ब्याट्री व्यवसाय गर्दै आएका गुप्ता भएको खुलेको थियो । भारतको वाराणसी घर भएका उनी चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए । उनले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए ।
आलमको साथबाट हत्यामा प्रयोग भएको जीआई पाइप, मृतकको रेडमी मोबाइल र शव बेर्न प्रयोग गरिएको कार्पेट बरामद भएको एसपी मल्लले जानकारी दिए । उनका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
चोरीको आरोपबाट सुरु भएको विवाद हत्यामा परिणत भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार विराटनगर-६ स्थित माता इलेक्ट्रिक वर्कसपबाट पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले आलमबारे हल्ला फैलाएका थिए ।
सोही कारण रुष्ट बनेका आलमले गुप्ताको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 
























