
विराटनगर । विराटनगरका व्यवसायी लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा प्रहरीले विराटनगर-६ का ३७ वर्षीय अब्जर मियालाई गएराती पक्राउ गरेको हो ।
विराटनगर-६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका ६० वर्षीय गुप्ताको शव आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका-२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र भेटिएको थियो ।

घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो ।
अनुसन्धानका क्रममा गुप्ताको हत्यामा मियाको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए । ‘हत्यामा संलग्न एक जनालाई पक्राउ गरेका छौं, थप अरु पनि संलग्न हुनसक्छन् कि भनेर बुझ्ने काम भइरहेको छ,’ एसपी मल्लले संगालोखबरसँग भने, ‘यो विषयमा विस्तृत जानकारी गराउँन हामीले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेका छौ ।’
व्यवसायी गुप्ताले आफ्नो पसलबाट मियाले सामान चोरी गरेको आरोप लगाएका थिए । सोही रिसमा मियाले उनको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई घरमा खाना खान बोलाएका थिए । सो क्रममा दुवैले मदिरा सेवन गरेपछि मियाले गुप्ताको टाउकोमा बियरको बोतल प्रहार गरे । त्यसपछि रड प्रहार गरेर गुप्ताको हत्या गरी सफारीमा राखेर खोलामा लगेर फालेको अनुसन्धानबाट पत्ता लागेको छ ।

संगालोखबर 
























