
विराटनगर । धनकुटाकी सावित्रा वाग्लेको अमेरिकामा सडक दुर्घटनामा परेर मृत्यु भएको छ । धनकुटा-४ वाग्ले टोलकी ६३ वर्षीया सावित्राको अमेरिकाको टेक्सास राज्यमा दुर्घटनामा परेर मृत्यु भएको हो ।
आइतबार बिहान दुर्घटनामा परेर काकीको निधन भएको जानकारी प्राप्त भएको उनका भतिज अशोक वाग्लेले जानकारी दिए । ‘काकीको आइतबार बिहान दुर्घटनामा निधन भएको खबर प्राप्त भयो’, उनले भने, ‘काकी परिवारसहित अमेरिकामा हुनुहुन्थ्यो ।’
सावित्रा श्रीमान खगेन्द्रप्रसाद वाग्लेसहित करिब एक वर्षअघि अमेरिका गएकी थिइन् । ‘काका–काकी छोराछोरी र नातिनातिनासँग अमेरिकामा नै बस्नु भएको थियो’, उनले भने, ‘काकीको दुर्घटनाका निधन भएको खबरले स्तब्ध बनाएको छ ।’
२०५४ सालमा नेकपा एमालेको तर्फबाट धनकुटा नगरपालिका-४ की वडासदस्य बनेकी उनी अखिल महिला संघ धनकुटा जिल्ला अध्यक्ष समेत भएकी थिइन् । यस्तै उनी महिला स्वास्थ्य स्वंयमसेविका संघ धनकुटा अध्यक्ष समेत भएकी थिइन् । उनको जन्म तेह्रथुमको आठराईमा भएको भतिज अशोकले जानकारी दिए ।

संगालोखबर 

















