चिसिएको साँझभित्र एउटा उज्यालो बाँकी छ,
टुटिसकेको यात्रामा पाइला अझै बाँकी छ।

समयले लुटेर लग्यो उमेरका कैयौँ ऋतु,
पुरानो त्यो चौतारीमा प्रतीक्षा अझै बाँकी छ।

ढलेका ती पर्खालले नाम तिम्रो बोल्छन् अझै,
खण्डहरको मौनतामा एउटा कथा बाँकी छ।

नदीजस्तै बगेका ती सपनाका धारहरूमा,
डुबिसकेको चाहनाको एउटा तृष्णा बाँकी छ।

हामीले छुट्टाछुट्टै बाटो रोजेपछि पनि,
एउटै मोडभित्र हाम्रो भेटघाट बाँकी छ।

तिमीले हाँसो बाँड्यौ, पीडा लुकाएर कतै,
तिम्रो त्यो उदारताको सुवास अझै बाँकी छ।

विद्रोहको आगोले धेरै अनुहार फेरिए,
तर सत्य खोज्ने मनमा प्रश्न अझै बाँकी छ।

म आफूलाई समयसँगै हराएको ठान्छु कहिलेकाहीँ,
तर तिम्रो सम्झनामा मेरो अस्तित्व बाँकी छ।

बादलले छोपे पनि त्यो जून हराएको छैन,
अँध्यारोको छातीभित्र किरण अझै बाँकी छ।

ऋतु फेरिए, फूल झरे, बगैँचा उजाडिए,
तर सुकेको हाँगामा कुनै वसन्त बाँकी छ।

तिम्रो पाइला मेटिए पनि धूलोले भन्छ अझै,
तिमी हिँडेको बाटोको सुगन्ध बाँकी छ।

जीवनले जितेको हो कि हामी हार्‍यौँ-थाहा छैन,
तर अधुरो त्यो संवादको आवाज अझै बाँकी छ।

तिमी जहाँ भए पनि, सुनिरहेछौ कि कतै
मेरो नबोलेको मनको एउटा खबर बाँकी छ।

निश्चल पोख्रेल, लालीगुँरास नगरपालिका ९ तेह्रथुम (हालः इटहरी)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!