
बिर्तामोड, ११ कात्तिक । विर्तामोडमा शुक्रबार दिउसो देखी जारी अनिश्चितकालीन कफ्र्यूलाई जिल्ला प्रशासन कार्यालय झापाले आज पनि निरन्तरता दिएको छ ।
एक महिनाअघि रहस्यमय रुपमा मृत फेला परेका अर्जुनधारा नगरपालिका–११, तीनपैनीका लक्ष्मण शिवाकोटीको मृत्युको छानबिन गर्न माग गर्दै गरिएको प्रदर्शनका कारण बिर्तामोडमा शुक्रबार तनाव भएपछि प्रशासनले जारी गरेको कफ्र्यू आज पनि यथावत राखेको हो ।
प्रदर्शनका कारण बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि शुक्रबार प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएको थियो भने ७ जना घाइते छन् ।
कफ्र्यूपछि प्रदर्शन रोकिए पनि फिर्ता हुनेबित्तिकै अवस्था नियन्त्रणबाहिर जान सक्ने भएकाले यथावत राखिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तनाव अझै बढ्न सक्ने भएकाले कफ्र्यू जारी राखिएको बताउनुभयो । गोली लागेर घाइते भएका ७ जनामध्ये १ जनाको अवस्था भने गम्भीर छ ।















