
विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८ औं संस्करण आजबाट सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा हुने उद्घाटन खेलमा झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक विराट गोल्डकप ट्रष्टका अनुसार गोल्डकप साँझ ६ बजेदेखि सुरु हुने छ । विराट गोल्डकप २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपको नामबाट सुरु भएको थियो । समयसँगै नाम परिवर्तन हुँदै अहिले विराट गोल्डकपको रूपमा सञ्चालन भइरहेको छ ।
आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिम सहभागि हुनेछन् । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार यसपटकको प्रतियोगितामा पहिलोपटक मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ फुटबल क्लबलाई अवसर दिइएको छ ।
प्रतियोगितामा सम्राट स्पोर्टिङसहित विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ एफसीसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, झापा–११ तथा भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । साथै प्रत्येक खेलमा उत्कृष्ट खेलाडी, सर्वश्रेष्ठ गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न चार विधामा व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको छ ।

संगालोखबर 























