
विराटनगर । आगामी चैत २८ गतेदेखि हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख ५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।
विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको छ । ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ नाराका साथ हुन लागेको प्रतियोगितामा नेपाल र भारतका आठ वटा टीम सहभागि हुँदैछन् ।
ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्ल , त्रिभुवन आर्मी फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, नेपाल एपीएफ फुटबल क्लब, चर्च ब्वाइज फुटबल क्लब, सम्राट स्पपोर्टिङ क्लब विराटनगर, झापा-११ फुटबल क्लब, र भारत झारखण्डको विर्षा मुण्डा फुटबल एकेडेमी सहभागि हुनेछन् ।
नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेता टिमले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोल रक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार दिने निर्णय भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न एक करोड खर्च लाग्ने अनुमान गरिएको ट्रष्टका महासचिव विनोद बस्नेतले जानकारी दिए । प्रतियोगिताको टिकट दर क्वाटर फाइनलसम्म एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा तीन सय राखिएको छ ।

संगालोखबर 























