
सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने युवतीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका-४ चिरौलीस्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
हरिनगर गाउँपालिका-६ की २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
खातुनले आफ्नो भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र लिएर परीक्षा दिन आएको खुलेको छ । उनले सुरुदेखि नै लगातार परीक्षा दिँदै आएको भएपनि विशेष सूचनाको आधारमा आज प्रहरीले पक्राउ गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिका-२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतार रहेको खुलेको छ । पक्राउ परेकी नुसरतलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


संगालोखबर 






















